काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव नहुने बताएका छन् । विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस २०२५ का अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको कार्यक्रममा उनले विपद् न्यूनीकरणको लागि सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताए ।
गृहमन्त्री अर्यालले नेपाल विपद् संवेदनशील क्षेत्रमा रहेको बताए । भौगोलिकरूपमा सुन्दर भए पनि नेपाल विपद्को उच्चजोखिममा रहेको उल्लेख गरे । ‘हालै भएको विपद्का कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरेको छ, यसका कारण विकासको गतिसमेत अवरुद्ध हुँदै आएको तथ्य हामीसामु छ’, उनले भने । विगतका ठूला भूकम्प र बाढीपहिरोले विपद् जोखिम न्यूनीकरणको महत्व बोध गराएको पनि उनले बताए । उनले सोहीअनुसार सरकारले विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिए । गृहमन्त्री अर्यालले विपद्लाई प्रकृतिमा मात्रै नभई सामाजिक, संरचनात्मक एवम् नीतिगत कमजोरीसँग पनि तुलना गर्नुपर्ने बताए । केन्द्रदेखि स्थानीय तहसम्म विपद् व्यवस्थापनका लागि थुप्रै संयन्त्र क्रियाशील रहेको उल्लेख गर्दै उनले ती सबै निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक दिनेश भट्टले विपद् व्यवस्थापनका क्षेत्रमा सरकारले गर्ने कामलाई प्रभावकारी र विश्वसनीय बनाउन आवश्यक रहेको बताए । पछिल्लो समय प्राकृतिक विपद् बढ्दै गएकाले त्यसलाई रोक्नका लागि विकास निर्माणका कार्यलाई विपद् व्यवस्थापनका अवधारणालाई ध्यान दिएर अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनले विपद्सम्बन्धी पूर्वसूचना, समुदायमा आधारित समाधानका लागि असल अभ्यासको आदानप्रदान, लैङ्गिकमैत्री समाधानका लागि यो सम्मेलन प्रभावकारी हुने उल्लेख गरे ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का महानिर्देशक डाक्टर पेमा ग्माम्त्सोले यस सम्मेलन विपद् जोखिम व्यवस्थापनका सन्दर्भमा महत्वपूर्ण प्रविधिको उपयोगका लागि चेताना अभिवृद्धि, स्रोतको व्यवस्थापनका साथै परिचालनका विषयमा जानकारी र विपद् पूर्वतयारीका बारेमा अर्थपूर्ण सन्देश प्रवाह गर्नुपर्ने बताए । रोशनकुमारी श्रेष्ठले विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनले मानवीय, भौतिक र आर्थिक क्षति न्यूनीकरणका लागि विपद् जोखिमको आकलन र जोखिम न्यूनीकरणमा ज्ञान, सीप र दक्षता अभिवृद्धिमा सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् । सम्मेलनले नीतिनिर्माता, अभ्यासकर्ता, विकास साझेदार, शिक्षाविद्, नागरिक समाज, निजी क्षेत्रका प्रतिनिधिहरू र सामुदायिक नेताहरूका लागि अनुभवहरू साझा गर्न, नवीन अभ्यासहरू र नेपाल बाहिरका विपद् जोखिम व्यवस्थापनबाट सिकेका पाठहरू साझा गर्न नेपालको प्रमुख प्लेटफर्मका रूपमा काम गर्ने जानकारी गराइएको छ ।