काठमाडौं । बेलायतको वेल्स, ब्रेकनमा भएको गस्ती अभ्यासमा नेपाली सेनाले सर्वोत्कृष्ट अंक प्राप्त गर्दै स्वर्ण पदक जितेको छ । यही असोज १७ देखि २६ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अंक प्राप्त गरी स्वर्ण पदक जितेको लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहले जानकारी दिए ।
३३ देशका एक सय १७ टिम सहभागी उक्त प्रतियोगितात्मक अभ्यासमा नेपाली सेनाले यस वर्ष स्वर्ण पदक प्राप्त गरेको हो । १० दिनसम्म सञ्चालित उक्त अभ्यासलाई आठ चरणमा विभाजन गरिएको थियो । जसमा ४८ घण्टाभित्र हतियार तथा करिब ७० पाउण्ड (३२ देखि ३५ केजी तौल) बराबरको उपकरण एवम् बन्दोबस्ती सामग्रीसहित ६० किलोमिटर बढी दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको खबर संकलन, घाइते बिरामीको व्यवस्थापनलगायतका विभिन्न तयारी र दक्षताको परीक्षण हुने नेपाली सेनाले जनाएको छ । नेपालले यही २३ गतेदेखि २५ गतेसम्म सो अभ्यास प्रर्दशन गरेको थियो । सन् १९६० बाट सुरु भएको यो अभ्यासमा सन् २०१४ देखि नेपाली सेनाले सहभागिता जनाउँदै आएको छ । नेपाली सेनाले सन् २०१७, २०१९ र २०२४ मा पनि स्वर्ण पदक जितेको थियो । सन् २०२० र २०२१ मा भने कोभिड–१९ को कारण नेपाल यो अभ्यासमा सहभागी भएको थिएन ।
बेलायती सेनाका अनुसार, मौसम र धरातलीय दृष्टिले कठिन क्षेत्र मानिने वेल्सको ब्रेकन क्षेत्रमा आयोजना हुने यो अभ्यास सैन्य क्षमता प्रर्दशनमा कठिन हुने गरी डिजाइन गरिएको छ ।