काठमाडौं । बीमांकी विश्लेषकहरूसँग छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा सोमबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बीमांकी तथा बीमांकी विश्लेषकहरूसँग छलफल एवं अन्तक्रिया कार्यक्रम सम्पन्न भएको प्राधिकरणको भनाइ छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विकास एवं प्रवद्र्धन तथा बीमा क्षेत्रलाई दीर्घकालीनरूपमा स्थापित गर्नका लागि बीमांकीय ज्ञान तथा बीमांकीय जनशक्तिको भूमिका महत्वपूर्ण रहने जानकारी दिए । प्राधिकरणका निर्देशक पुजन ढुंगेल अधिकारीले बीमांकी विश्लेषक तथा सुपरीवेक्षकहरूसँग गरिएको सर्भेक्षणको नतिजा प्रस्तुत गर्दै समग्र बीमा क्षेत्रमा बीमांकी विश्लेषकहरूको सहभागिता बढ्दै गएको बताए । प्राधिकरणका उपनिर्देशक निर्मला मल्लले जोखिममा आधारित पुँजीको कार्यान्वयन, जोखिममा आधारित पुँजीमा आर्थिक वर्ष २०८१/०८२मा अद्यावधिक भएका व्यवस्था र प्रतिवेदन पेस गर्दा बीमकहरूले ध्यान दिनुपर्ने विषयमा प्रस्तुति गरे ।
एक्चुरियल सोसाइटी अफ नेपालका अध्यक्ष प्रेक्षा माथेमाले बीमांकी तथा बीमांकी विश्लेषकहरूको ज्ञान, सीप र क्षमता विकासमा सहयोग गर्न सोसाइटी तयार रहेको बताइन् । कार्यक्रममा बीमांकी विश्लेषकहरूले आ–आफ्ना कार्य अनुभव, विद्यमान चुनौती र नियामकीय सहयोगलगायतका विषयमा धारणा राखेका थिए । कार्यक्रममा एक्चुरियल सोसाइटी अफ नेपालका पदाधिकारी तथा सदस्यहरू र बीमा विश्लेषकहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सुधा काफ्लेले गरेकी थिइन् ।