काठमाडौं । आयो रेमिटले प्रतिष्ठित ‘ब्रिट फिनटेक अवार्ड २०२५’मा ‘एमएसबी ग्लोबल’ उपाधि जितेको छ । बेलायतमा आयोजित एक समारोहमा विश्वव्यापीरूपमा कारोबार विस्तार गरिरहेको रेमिटेन्स तथा भुक्तानी प्लेटफर्म आयो रेमिटले यो सम्मान प्राप्त गरेको हो ।
विश्वकै प्रतिष्ठित फिनटेक सम्मानमध्ये एक मानिने यस अवार्डले नवीनता, पारदर्शिता र ग्राहक सन्तुष्टिमा उत्कृष्ट योगदान दिएका कम्पनीलाई सम्मान गर्छ । आयो रेमिटलाई यसको मनी सर्भिस बिजनेस सञ्चालनमा नवीन दृष्टिकोण र बलियो नियमन संरचनाका आधारमा चयन गरिएको हो । नेपाली मूलका उद्यमी कल्पित भण्डारी र प्रसुन भण्डारीद्वारा स्थापना गरिएको आयो रेमिटको मुख्यालय बेलायतमा रहेको छ भने क्षेत्रीय कार्यालयहरू अष्ट्रेलिया र साइप्रसमा छन् ।
‘यो सम्मान हाम्रा ग्राहकहरूको विश्वास र हाम्रो टिमको अथक समर्पणको प्रतिफल हो । हामी सीमा पार भुक्तानीलाई अझ सरल र सुलभ बनाउने दिशामा निरन्तर अग्रसर छौँ’, कम्पनीका सह–संस्थापक प्रसुन भण्डारीले भनेका छन् । उनका अनुसार यो सम्मानले डिजिटल फाइनान्समा आयो रेमिटको नेतृत्वदायी भूमिका र विश्व मञ्चमा नेपाली उद्यमशीलताको प्रभाव दुवै उजागर गरेको छ ।