काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । यसअघि लगातार ओरालो लागेर सोमबार ४४ दशमलव २५ अंकले उकालो लागेको नेप्से परिसुचक आज मंगलबार १९ दशमलव ४३ अंकले ओरालो लागेर २५ सय २८ दशमलव १६ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ६० अंकले ओरालो लागेर चार सय ३९ दशमलव ९४ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय १७ वटा कम्पनीहरुको ३८ हजार आठ सय २७ पटकको कारोबारमा ७४ लाख ८८ हजार दुई सय ७३ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा कुल कारोबार रकम तीन अर्ब ३६ करोड ६१ लाख ९८ हजार दुई सय ६२ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये व्यापार, अन्य र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।