काठमाडौं, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मठ–मन्दिर, ट्रष्ट तथा संघसंस्थाका नाममा रहेका जग्गा र अचल सम्पत्तिको बिक्री–वितरणमा कडा निगरानी गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी अत्यन्त जरुरी सूचनामा प्रशासनले २०७६ साल बैशाख ३१ गते गृह मन्त्रालयले जारी गरेको निर्देशनको स्मरण गराउँदै यस्ता सम्पत्ति बिक्री–वितरणमा रोक कायम रहेको स्पष्ट पारेको छ। सूचनामा भनिएको छ, ‘‘सरकारी निर्णय हुँदाहुँदै पनि केही मठ–मन्दिर, ट्रष्ट र संघसंस्थाले जग्गा बिक्री गरेको गम्भीर जानकारी प्राप्त भएकाले यस कार्यालयको ध्यानाकर्षण भएको छ।’’ प्रशासनले काठमाडौं जिल्लाभित्रका सबै मालपोत कार्यालयलाई संघ, मठ–मन्दिर र ट्रष्टका नाममा रहेका जग्गाको विक्री, हक हस्तान्तरण वा लिखत पारित नगर्न निर्देशन दिएको छ। साथै, निर्णयको उल्लङ्घन गर्ने व्यक्ति वा संस्थामाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ। सरकारले ७ वर्षअघि नै धार्मिक तथा सामुदायिक सम्पत्तिको संरक्षणका उद्देश्यले मठ–मन्दिर, संघसंस्था र सार्वजनिक ट्रष्टका नाममा रहेका सम्पत्ति बिक्री र स्वामित्व हस्तान्तरणमा रोक लगाउने निर्णय गरेको थियो। प्रशासनका अनुसार पछिल्ला वर्षमा काठमाडौं उपत्यकाभित्रका केही मठ–मन्दिर र निजी ट्रष्टका जग्गा निजी व्यक्तिको नाममा बिक्री भएको उजुरी दर्ता हुँदै आएका छन्। यस्ता कार्य सार्वजनिक सम्पत्ति दुरुपयोगअन्तर्गत पर्न सक्ने प्रशासनको भनाइ छ। जिल्ला प्रशासनले सबै स्थानीय तह, भूमि प्रशासन कार्यालय, मालपोत कार्यालय र सम्बन्धित निकायलाई सो निर्णयको कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ। सूचनामा भनिएको छ, ‘‘नेपाल राज्यभरका मठ–मन्दिर, ट्रष्ट र संघसंस्थाका सम्पत्तिको दिगो संरक्षण हाम्रो साझा जिम्मेवारी हो।’’