जनकपुरधाम, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत लिने दिनकै बैठकमा प्रदेश सभाको रोष्टमबाटै राजीनामाको घोषणा गरेका छन्। मंगलबार विश्वासको मत लिनुपर्ने अन्तिम समयसीमामा प्रदेश सभामा उपस्थित भएका सिंहले मतदान प्रक्रिया अघि बढ्नुअघि नै लिखित वक्तव्य पढ्दै पदत्यागको घोषणा गरेका हुन्। राजीनामासँगै सभामुख रामचन्द्र मण्डलले विश्वासको मत विभाजन गर्न आवश्यकता नरहेको भन्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरेका छन्। वक्तव्यमार्फत् सिंहले जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र पार्टी नेतृत्वप्रति तीव्र असन्तुष्टि प्रकट गर्दै राजनीतिक षड्यन्त्रका कारण आफूलाई सत्ताबाट हटाउने प्रयास भएको आरोप लगाए। उनले जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले कांग्रेससँग मिलेर सरकार अस्थिर पार्ने षड्यन्त्र गरेको दाबी गर्दै अध्यक्ष राउतले लोकतन्त्रको नाममा कार्यकर्ताबाट आफूलाई ‘भगवान’ कहलाउन लगाएको आरोप पनि लगाएका छन्।मुख्यमन्त्री सिंहको राजीनामासँगै मधेस प्रदेशमा नयाँ राजनीतिक समीकरण खोजिने सम्भावना बढेको छ।