काठमाडौं ।हमासले थप चार बन्धकहरूका शव फिर्ता गरेको इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) ले जनाएको छ। रेड क्रसले कफिनमा राखिएका अवशेषहरू बुझेर मङ्गलवार अबेर इजरेली सेनालाई हस्तान्तरण गरेको बताइएको छ। इजरेलले बाँकी २८ मृतकको शव नबुझाएसम्म गाजामा सहायता रोकिदिने चेतावनी दिएसँगै हमासले थप चार शव फिर्ता गरेको हो। उक्त प्यालेस्टिनी सशस्त्र समूहले सोमवार २० जना जीवित बन्धकलाई रिहा गर्नुका साथै चार शव पनि फिर्ता गरेको थियो। रेड क्रसले एक वक्तव्यमार्फत् जनाएअनुसार इजरेलले आफूसँग रहेका ४५ मृत प्यालेस्टिनीको अवशेष मङ्गलवार गाजा पठाउने छ।इजरेल र हमास दुवै पक्षद्वारा स्वीकार गरिएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सङ्घर्षविराम योजनामा सबै ४८ बन्धकलाई सोमवार मध्याह्नसम्ममा हस्तान्तरण गरिसक्ने उल्लेख थियो।सबै जीवित बन्धकहरू छाडिए पनि हमासले अहिलेसम्म नफर्काएका बाँकी २० बन्धकलाई लिएर हमास र इजरेली सरकारमाथि दबाव बढिरहेको छ। इजरेलको चेतावनी मङ्गलवार जारी एक वक्तव्यमा आईडीएफले भनेको छ, "हमासले सम्झौतामा उल्लेखित आफ्नो दायित्व पूरा गर्न आवश्यक छ र सबै बन्धकका शव अन्तिम संस्कारका निम्ति तिनका परिवारजनलाई फिर्ता गर्नेतर्फ आवश्यक काम गर्न जरुरी छ।" इजरेली रक्षामन्त्रीले उक्त प्यालेस्टिनी सशस्त्र समूहलाई "कुनै पनि प्रकारको ढिलासुस्ती वा जानिबुझीकन आनाकानी गरे त्यसलाई सम्झौताको गम्भीर उल्लङ्घनका रूपमा लिइने र तदअनुरूप जबाफ दिइने" चेतावनी दिएका छन्। इजरेली अधिकारीहरूले हमासले बन्धकहरूका शव फर्काउन विफल भएर सङ्घर्षविराम सम्झौताको उल्लङ्घन गरेका कारण आफूहरू सहायता रोक्ने र इजिप्टसँगको रफाह सीमानाका खोल्ने योजनामा ढिलाइ गर्ने निर्णयमा पुगेको बताएका छन्। हमासले भने मृत बन्धकका अवशेष भेट्टाउन कठिनाइ भइरहेको जनाएको छ।इजरेली सञ्चारमाध्यमहरूमा गतसाता प्रकाशित सङ्घर्षविराम सम्झौताको एक संस्करणमा हमास र अन्य प्यालेस्टिनी गुटहरू निर्धारित समय सीमाभित्र सबै शवहरू खोज्न सक्षम नहुन सक्ने स्वीकारिएको छ। शव फिर्ता नभएका मृतकका अवशेष खोज्न एउटा अन्तर्राष्ट्रिय कार्यदल बनाइने एक इजरेली अधिकारीले बताएका छन्। २० बुँदै शान्ति योजना सम्झौताअनुरूप प्यालेस्टिनी बन्दी तथा हिरासतमा रहेकाहरू गरी लगभग २,००० जना रिहा भइसकेका छन्। त्यसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले दुई वर्षे गाजा युद्धको अन्त्यका रूपमा अर्थ्याएका थिए। निकै हदसम्म सङ्घर्षविराम लागु भए पनि मङ्गलवार पूर्वी गाजामा भएका दुई छुट्टाछुट्टै घटनामा इजरेली बलद्वारा सात जना मारिएका प्यालेस्टिनी अधिकारीहरूले बीबीसीलाई बताए।(बीबीसी)