काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५ मा चार दशमलव तीन र सन २०२६ मा पाँच दशमलव दुई प्रतिशत रहने प्रक्षेपण गरेको छ । आईएमएफले मंगलबार ‘वर्ल्ड एकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।
सन् २०२३ मा दुई प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर सन् २०२४ मा तीन दशमलव सात प्रतिशत रहेको थियो । यस वर्ष अर्थात् सन् २०२५ मा सामान्य सुधार भई वृद्धिदर चार दशमलव तीन प्रतिशत पुग्ने आईएमएफले अनुमान गरेको छ । यसअघि विश्व बैंकले भने आर्थिक वृद्धिदर दुई दशमलव एक प्रतिशतमा संकुचित हुने प्रक्षेपण गरेको थियो ।
यस्तै, नेपालले सन् २०२६ मा पाँच दशमलव दुई र सन् २०३० मा पाँच प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरिएको छ । नेपालको मूल्यवृद्धि सन् २०२५ मा चार दशमलव एक र २०२६ मा चार दशमलव दुई प्रतिशत रहने पनि प्रक्षेपण गरिएको छ ।
आईएमएफले यस वर्ष विश्वको आर्थिक वृद्धिदर घट्ने अनुमान समेत गरेको छ । सन् २०२४ मा तीन दशमलव तीन प्रतिशत रहेको विश्वको आर्थिक वृद्धिदर सन् २०२५ मा तीन दशमलव दुई र २०२६ मा तीन दशमलव एक प्रतिशत रहने अनुमान गरिएको हो ।