काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको समग्र अर्थतन्त्र सहज अवस्थामा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक भएको चालू आर्थिक वर्षका दुई महिनाको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनले अर्थतन्त्र सहज अवस्थामा देखाएको हो ।
भदौ मसान्तसम्ममा गत आवको सोही अवधिको तुलनामा मुल्यवृद्धि घटेको, वैदेशिक रोजगारीबाट प्राप्त हुने आय अर्थात रेमिट्यान्ससँगै विदेशी मुद्राको सञ्चिति बढेको, मुलुकको निर्यात व्यापारमा पनि पछिल्लो अवस्थामा केही सुधार देखिएको छ । प्रतिवेदनअनुसार २०८२ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ८७ प्रतिशतमा सीमित छ ।
गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति तीन दशमलव ८६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति एक दशमलव ३४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः पाँच दशमलव शून्य छ प्रतिशत र तीन दशमलव १९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो दुई महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव शून्य नौ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको तीन दशमलव ९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको दुई दशमलव ६६ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२ दशमलव ७४ प्रतिशत, मरमसलाको छ दशमलव ३१ प्रतिशत र दाल तथा गेडागुडीको तीन दशमलव ५८ प्रतिशतले घटेको छ ।
यसैगरी गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव ७७ प्रतिशत, शिक्षाको सात दशमलव ६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव २९ प्रतिशत, सुर्तीजन्य पदार्थको चार दशमलव ८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ५५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव २२ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ७३ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ९१ प्रतिशतले बढेको छ ।
प्रतिवेदनअनुसार प्रदेशगतरूपमा समीक्षा महिनामा कोशी प्रदेशकोे वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ९९ प्रतिशत, मधेश प्रदेशको एक दशमलव ७४ प्रतिशत, बागमती प्रदेशको एक दशमलव ७२ प्रतिशत, गण्डकी प्रदेशको एक दशमलव ४७ प्रतिशत, लुम्बिनी प्रदेशको एक दशमलव ७६ प्रतिशत, कर्णाली प्रदेशको एक दशमलव ८५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको शून्य दशमलव ८८ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव २१ प्रतिशत, तराईको एक दशमलव ७० प्रतिशत, पहाडको एक दशमलव ६८ प्रतिशत र हिमालको दुई दशमलव ५१ प्रतिशत रहेको छ । २०८२ भदौ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति दुई दशमलव १० प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति दुई दशमलव ७५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति चार दशमलव २१ प्रतिशत रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः शून्य दशमलव ८३ प्रतिशत र दुई दशमलव ३५ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क चार दशमलव १८ प्रतिशतले बढेको छ । प्रतिवेदनअनुसार २०८२ भदौ महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत रहेको छ । सन् २०२५ सेप्टेम्बर महिनामा भारतमा यस्तो मुद्रास्फीति एक दशमलव ५४ प्रतिशत रहेको छ ।
खुद सेवा आय ३१ अर्ब रुपैयाँले घाटामा
मुलुकको खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको दुई महिनाको प्रतिवेदनअनुसार खुद सेवा आय ३१ अर्ब १६ करोड रुपैयाँले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २७ अर्ब ९३ करोड रुपैयाँले घाटामा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय नौ दशमलव आठ प्रतिशतले बढेर ११ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० अर्ब ५५ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव छ प्रतिशतले बढेर ४७ अर्ब ३१ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ३२ अर्ब ७६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४३ अर्ब १८ करोड रहेकोमा शिक्षातर्फको व्यय २८ अर्ब २० करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।
एक खर्ब ३० अर्ब रुपैयाँले बचतमा चालू खाता
मुलुकको चालू खाता बचतमा देखिएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार चालू खाता एक खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५४ अर्ब ४१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर दुई अर्ब २० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर एक अर्ब २० करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा एक अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) दुई अर्ब ७१ करोड रहेको थियो ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति एक खर्ब ५३ अर्ब ६८ करोड बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ७७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब १० करोडले बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
दुई महिनामा तीन खर्ब ५२ अर्ब रुपैयाँ रेमिट्यान्स
नेपालले चालू आर्थिक वर्षको पछिल्लो दुई महिना अर्थात् साउन र भदौ महिनामा मात्र तीन खर्ब ५२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले बढेर तीन खर्ब ५२ अर्ब आठ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव आठ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार २०८२ भदौ महिनाको रेमिट्यान्स रकम एक खर्ब ७४ अर्ब ६७ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो रकम एक खर्ब २७ अर्ब ९९ करोड रहेको थियो । चालू आवको पछिल्लो दुई महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७ दशमलव छ प्रतिशतले वृद्धि भई दुई अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय तीन खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय दुई खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो ।
प्रतिवेदनअनुसार चालू आवको भदौ मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९० हजार एक सय ९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार आठ सय ८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार चार सय ८५ र ४० हजार पाँच सय ८३ रहेको प्रतिवेदनमा उल्लेख छ ।
२८ खर्ब ८१ अर्ब रुपैयाँ पुग्यो विदेशी मुद्रा सञ्चिति
मुलुकमा पछिल्लो समय विदेशी मुद्राको सञ्चिति बढेको छ । चालू आर्थिक वर्षको दुई महिनाको प्रतिवेदन अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति सात दशमलव छ प्रतिशतले बढेर २०८२ भदौ मसान्तमा २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा चार दशमलव सात प्रतिशतले बढेर २० अर्ब ४१ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा छ दशमलव नौ प्रतिशतले बढेर २५ खर्ब ८२ अर्ब ३८ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब चार करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३ दशमलव सात प्रतिशतले बढेर दुई खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ । २०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९ महिना सात दिनको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७ दशमलव दुई प्रतिशत, एक सय ३३ दशमलव एक प्रतिशत र ३६ दशमलव छ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३ दशमलव आठ प्रतिशत, एक सय २८ दशमलव एक प्रतिशत र ३४ दशमलव एक प्रतिशत रहेका थिए ।