काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले शपथग्रहण गरेका छन् । मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसमक्ष आर्चायले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । बैंकको गत शुक्रबार सम्पन्न १९औँ वार्षिक साधारणसभाबाट सञ्चालकमा निर्वाचित आचार्यलाई सोही दिन वसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको थियो ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा निर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष पद तथा गोपनीयताको शपथग्रहण गर्नुपर्ने व्यवस्था रहेअनुसार अध्यक्ष आर्चायले शपथग्रहण गरेका हुन् । शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्यन्द्र तिमिल्सिना, विकास बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
बैंकको शुक्रवार सम्पन्न १९औँ वार्षिक साधारणसभावाट संस्थापक समूहअन्तर्गत सुदिप आचार्य, भिमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएको बैंकले जनकारी दिएको छ ।