काठमाडौं । शाओमीले आफ्नो नवीनतम स्मार्टफोन शाओमी १५टी नेपालमा औपचारिकरूपमा सार्वजनिक गरेको छ । यो फ्ल्यागसिप स्मार्टफोनमा लाइकासँग मिलेर विकसित गरिएको ट्रिपल क्यामरा प्रणाली राखिएको कम्पनीले जनाएको छ ।
नयाँ स्मार्टफोनले व्यावसायिकस्तरको फोटोग्राफी र उच्चस्तरीय प्रदर्शन गर्ने कम्पनीको दाबी छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले शाओमी १५टी शक्ति, बुद्धिमत्ता र नवप्रवर्तनको संयोजन भएको बताए । लाइकासँगको सहकार्यले प्रयोगकर्तालाई उत्कृष्ट तस्बिर गुणस्तर भएको क्यामरा प्रणाली उपलब्ध गराएको उनको दाबी छ । उनका अनुसार एआई प्रविधि र उच्च प्रदर्शन क्षमताको साथ यो स्मार्टफोनले नेपाली उपभोक्ताका लागि मोबाइल फोटोग्राफी र प्रयोग अनुभवमा नयाँ स्तर ल्याउनेछ । शाओमी १५टीमा तीनवटा लाइका क्यामरा छन् । ५० एमपी मुख्य क्यामरा (२३एमएम), ५० एमपी टेलिफोटो क्यामरा दुई गुना अप्टिकल जुमसहित (४६एमएम) र १२ एमपी अल्ट्रा–वाइड क्यामरा (१५एमएम) रहेको कम्पनीले जनाएको छ । ठूलो अपर्चर भएको लाइका समिलक्स लेन्सले अँध्यारोमा पनि स्पष्ट र रंगीन तस्बिर खिच्न सक्छ ।
फोनको डिजाइन पातलो र आकर्षक छ । यसमा मुलायम किनार, म्याट फिनिस र केवल साढे सात मिमि पातलो र एक सय ९४ ग्राम तौल छ । यो फोन आईपी६८ प्रमाणित भएकाले पानी र धुलोबाट सुरक्षित रहन्छ, र कोर्निङ गोरिल्ला ग्लास ७आईले स्क्र्याचबाट सुरक्षा दिन्छ । फोनमा मेडियाटेक डाइमेन्सिटी ८४००–अल्ट्रा चिपसेट (४ न्यानोमिटर), १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज दिइएको छ । यो एन्ड्रोइड १५मा आधारित हाइपरओएस २ मा चल्नेछ । साथै हाइपरओएस ३ पनि चाँडै उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
साथै, यसमा ६.८३ इन्चको एएमोलेड डिस्प्ले, १.५के रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट रहेको छ । फ्रन्टतर्फको ३२एमपी क्यामराले उच्च गुणस्तरका सेल्फी र भिडियो कलका लागि सहयोग गर्नेछ भने यसमा ५५०० एमएएच ब्याट्री र ६७ वाट हाइपरचार्ज फास्ट चार्जिङ सुविधा छ । यसमा डुअल सिम, वाइफाइ ६ई, ब्लुटुथ ६.०, मल्टीफङ्सनल एनएफसी, ५जी समर्थन, र जीपीएस, ग्लोनास, ग्यालिलियो, बेइडो, क्युझेडएसएस र नाभिकजस्ता मल्टिब्यान्ड पोजिसनिङ प्रणाली पनि छन् । नेपालमा शाओमी १५टी मूल्य ६४ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यो स्मार्टफोन ब्ल्याक, ग्रे र रोज गोल्ड गरी तीन रंगमा देशभरका शाओमीका अधिकृत स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।