सिमकोट (हुम्ला) । नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता भएका छन् । उनी गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा बेपत्ता भएको र अझै सम्पर्कमा नआएको थुक्तेनको परिवारजनले बताएका छन् ।
चौबीस वर्षीय थुक्तेन नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्ष अगाडिदेखि काठमाडौँको तीनचुलीमा भतिजासँगै बस्दै आए पनि आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको उनका बुबा टैछिरिङ लामाले बताए । उनका अनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठा फिर्ता भएका थिए ।
थुक्तेनका बुबा टैछिरिङले भदौ २४ गते कोठाबाट निस्केको र त्यसपछि बेपत्ता भएको छोराको खोजी गरिदिन सबैमा आग्रह गरेका छन् । बेपत्ता थुक्तेन उनका कान्छा छोरा हुन् । थुक्तेनका बारेमा जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौँ प्रहरीलाई जानकारी गराइएको बुबा टैछिरिङले बताए ।