काठमाडौँ । नेपाल राष्ट्र बैंकले गभर्नरका लागि घर भाडामा उपलब्ध गराउन भन्दै दोस्रोपटक पुनः सार्वजनिक सूचना जारी गरेको छ । यसअघि राष्ट्र बैंकले असोज १२ गते असोज २७ गते अन्तिम मिति तोकेर सार्वजनिक सूचना जारी गर्दै गभर्नर डा. विश्वनाथ पौडेलका लागि भाडामा घर खोज्नका लागि सार्वजनिक सूचना जारी गरेको थियो । तर, घर नभेटेपछि पुनः सूचना प्रकाशित गरेको हो ।
राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै भाडाको घरका लागि प्रस्ताव आह्वान गरेको थियो । तर उक्त अन्तिम मितिसम्म पनि कुनै पनि घरधनीहरुले गभर्नर डा. पौडेललाई घर उपलब्ध गराउने प्रस्ताव पेस नगरेपछि राष्ट्र बैंकले असोज २७ गते सोही प्रकृतिको अर्को सूचना जारी गर्दै यही कात्तिक १६ गतेसम्म भाडाको घर उपलब्ध गराउने प्रस्ताव पेस गर्न भनेको छ ।
राष्ट्र बैंकका अनुसार यसअघि जारी भएको सूचनाअनुसार भाडामा लिने घर कम्तीमा १६ आनादेखि अधिकतम २४ आनासम्मको भू–क्षेत्रमा बनेको, कम्तीमा एक हजार वर्गफुट पिलिन्थ क्षेत्रफलमा बनेको र साढे दुईदेखि तीन तलासम्मको हुनुपर्नेछ । घरमा कम्तीमा चारवटा बेडरुम भएको र यसमध्ये एउटा मास्टर बेडरूम अनिवार्य हुनुपर्नेछ । घरमा लिभिङ हल, किचन, डाइनिङ हल स्टोर रुम समेत हुनुपर्नेछ । यसबाहेक घरमा कम्तीमा छवटा कार वा जिप पार्क गर्न मिल्ने ठाउँ हुनुपर्नेछ । सुरक्षाकर्मी बस्न छुट्टै भवन भएको, सुरक्षित कम्पाउन्डवाल भएको र कालोपत्रे सडकसँग सिधा जोडिएको हुनुपर्नेछ । त्यस्तै, बिजुली, ढल निकास र खानेपानीको राम्रो व्यवस्था भएको हुनुपर्नेछ ।
इच्छुक व्यक्ति, फर्म वा कम्पनीले नेपाल राष्ट्र बैंकको सम्बन्धित विभागबाट घरभाडा प्रस्तावसम्बन्धी कागजात प्राप्त गरी आवश्यक विवरण भरी प्रस्ताव पेस गर्न सकिने उल्लेख छ । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा गभर्नर पौडेलको भैँसेपाटी र चितवनमा रहेको दुईवटा घर जलेपछि राष्ट्र बैंकले गभर्नरका लागि नयाँ घरभाडामा लिन प्रस्ताव आह्वान गरेको हो ।
सामाजिक उत्तरदायित्व कार्यक्रममा जेन–जीलाई समेट्न निर्देशन
नेपाल राष्ट्र बैंकले सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गतको कार्यक्रम (सीएसआर)हरुमा जेन–जीलाई समेट्न निर्देशन दिएको छ । मंगलबार बैंक तथा वित्तहरुलाई सूचना जारी गरी केन्द्रीय बैंकले सीएसआरमा जेन–जीलाई समेट्न निर्देशन दिएको हो ।
बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन २०८१ मा राष्ट्र बैंकले पहिलो संशोधन गरेको छ ।
यसअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी र पूर्वाधार विकास बैंकलगायत इजाजतपत्र प्राप्त संस्थाहरुले आफ्नो सीएसआर रकम जेन–जी प्रभावितलाई सहयोगस्वरुप खर्च गर्न पाउनेछन् । यो निर्देशनअनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो संस्थाले गर्ने संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गतको खर्च जेन–जी आन्दोलनमा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराउनु पर्नेछ ।
यसैगरी, जेन–जी आन्दोलनमा सहिद भएका व्यक्तिका, आयआर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आयआर्जन क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई प्रदान गर्न समेत उक्त रकम खर्च गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
चार दिनको लागि राष्ट्र बैंकले खिच्यो ३५ अर्ब
नेपाल राष्ट्र बैंकले चार दिनको लागि बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिचेको छ । बुधबार मौद्रिक उपकरण बिक्री गरेर बैंकिङ प्रणालीबाट उक्त परिमाणमा रकम खिचिएको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न तीन बजेसम्ममा बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा रकम खिचिएको हो । परिपक्व हुुने अवधि चार दिन तोकिएको उपकरणको सावाँ ब्याज भुक्तानी मिति कात्तिक २ गते तोकिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि यो उपकरण बिक्री गरिएको हो ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सीमा तोकिएको थियो । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने जानकारी राष्ट्र बैंकले जनाएको छ ।