काठमाडौं । आफूलाई जेन–जी भन्दै सरकारी कार्यालयका कर्मचारीलाई थर्काउँदै हिँडेका अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरका अनुसार शाही कोटेश्वरबाट पक्राउ परेका हुन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीविरुद्ध प्रहरीका विभिन्न कार्यालयमा यसअघि पनि उजुरी परेका थिए । पछिल्लो समय उनले विभिन्न गैरकानुनी गतिविधि गरिरहेकाले पक्राउ गरिएको परिसरले उल्लेख गरेको छ । खासगरी शाहीसहितको टोलीले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर लफडा गरेका थिए भने नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेर पनि महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मागेका थिए ।
जेन–जी प्रदर्शनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सपथ समारोहमा समेत उनी अगुवा बनेर पुगेका थिए । उनीमाथि लाखौँ ठगीको आरोप समेत छ । बुधबार मात्रै गृहमन्त्री ओमप्रकाश अर्यालले यस्ता गैरकानुनी गतिविधिमा संलग्न जोकोहीलाई कारबाही हुने बताएका थिए । शाहीविरुद्ध यसअघि वैदेशिक रोजगारीमा जाने युवालाई ठगी गर्ने, चेक बाउन्स लगायतका मुद्दा परेको थियो ।
एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ
त्यसैगरी, जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुटपाट गरी प्रदर्शन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ सुनाकोठीका सम्राट भन्ने राजु परियार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
उनले भने, ‘गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न रही सुरक्षाकर्मीले प्रयोग गर्ने एसएलआर बोकेर सिंहदरबार मूलद्वार अगाडिलगायतका विभिन्न स्थानमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गरी क्षति पुर्याएको अभियोगमा परियारलाई पक्राउ गरिएको हो ।’
पक्राउ परेका परियारविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने समेतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट बुधबार पाँचको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । यसअघि पनि विभिन्न मितिमा बैंकिङ कसुर तथा ठगी कसुरजस्ता आपराधिक गतिविधिमा उनको संलग्नता रहेको देखिएको प्रहरीले जनाएको छ ।