काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको अभियोग लागेका नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ८० बमोजिम बुधवार थुनछेक आदेशपछि महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । महराविरुद्ध विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा सोमबार मुद्दा दर्ता भएको थियो । उनी आइतबार पक्राउ परेका थिए ।
अदालतमा पेस भएको प्रारम्भिक प्रमाण र अनुसन्धान प्रतिवेदनअनुसार महराको चिनियाँ व्यापारी दावजिन वाङसँग निरन्तर सम्पर्क र पारिवारिक तथा व्यावसायिक सम्बन्ध रहेको देखिएको छ ।
उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरूपमा सुन भित्र्याएको आरोप छ । नेता महरासहितविरुद्ध कुल आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । २०७९ साल पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले दुईवटा सुटकेसभित्र ७३ वटा बट्टामा सात सय ३० वटा भेपमार्फत ९ किलो सुन तस्करी गरेको प्रकरणमा महरा जोडिएका हुन् । उक्त प्रकरणमा उनको छोरा राहुल महरामाथि पनि प्रहरीले अनुसन्धान गरेको छ । उनी पहिला नै पक्राउ परेका थिए ।
नेता महराले विमानस्थल भन्सार कार्यालयबाट उक्त सुन छुटाउन कर्मचारीलाई फोन गरेको प्रमाण फेला परेको बताइएको छ । सोही प्रकरणमा नेता महरा २०८० चैत ५ गते पक्राउ परेका थिए । तर, त्यतिबेला प्रहरीले मुद्दा दायर नगरी रिहा गरेको थियो ।