काठमाडौं । जेन–जीको नाममा अखिल नेपाल फुटबल संघ (एन्फा) पुगेर जज्ञापनपत्र बुझाउने र युवाहरूलाई धर्नामा सहभागी गराउने अनिश कार्की आफैँ बैंकिङ कसुरसम्बन्धी मुद्दाका आरोपित रहेको खुलेको छ ।
सोमबार केही युवाले एन्फाको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै धर्ना तथा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाउनेमध्येका एक स्थायी घर दोलखा भएका ३० वर्षीय कार्की हाल काठमाडौंको कागेश्वरी मनोहरा बस्दै आएका छन् । कार्की बैंकिङ कसुरमा मुद्दा भोगेका आरोपित भएको खुलेको हो । उनीविरुद्ध काठमाडौं प्रहरीमा मनोहराकै कविराज गिरीले बैंकिङ कसुरमा उजुरी दिएको खुलेको छ । गिरीले प्रहरीलाई दिएको उजुरीअनुसार कार्कीले घर व्यवहार मिलाउने भन्दै पटक–पटक गरेर पाँच लाख ३० हजार रुपैयाँ लिएर चेक दिएको तर चेक नसाटिएको उल्लेख गरेका छन् ।
बैंकमा रकम नभएको चेक दिएर बैंकिङ कसुर गरेको बारे पटक–पटक जानकारी गराउँदा पनि नियतवश नै आफूलाई ठगी गरेको उल्लेख गरेका छन् । कार्कीसहित युवाहरूले सोमबार एन्फा महासचिव किरण राईलाई ज्ञापनपत्र बुझाएका थिए । यसअघि, कार्यालय अनुगम नगर्ने तथा ज्ञापनपत्र बुझाउने नाममा जेनजीको समूह नै लिएर नागरिक उड्डयन प्राधिकरणको कार्यालयका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग्नेदेखि अभद्र शैलीमा प्रस्तुत हुने अर्जुनबहादुर शाही पनि फौजदारी कसुरका आरोप रहेको खुलेको थियो ।