काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का कर्मचारीहरूले अक्षम झोले अध्यक्ष र सीईओ राजीनामा दे भन्दै नाराबाजी गरेका छन् । नेप्सेको नियमित कामकारबाही नरोकी आन्दोलन गरिरहेको नेप्सेका कर्मचारीहरूले आन्दोलनको २३औँ दिनमा नेप्सेमा अध्यक्षको रूपमा हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईँ राजीनामा दे भन्दै नारावाजी गरेका हुन् ।
श्रम अदातलको आदेशविपरीत नेप्सेको सञ्चालक समितिले निर्णय गरेको भन्दै असोज सात गतेदेखि नेप्सेका कर्मचारी नियमित आन्दोलनमा रहेका छन् । अर्थ मन्त्रालयको स्वीकृति लिएर नेप्सेले कर्मचारीहरूलाई वार्षिक एक प्रतिशत बोनस वितरण गर्दै आएको छ। तर, नेप्सेले राम्रो नाफा गरिरहेकाले पाँच प्रतिशतसम्म बोनस पाउनुपर्ने माग राख्दै आएका थिए । सोही मागको विषयमा विवाद उत्पन्न भएपछि कर्मचारीहरू श्रम अदालत गएका थिए ।
विसं २०८२ असार ५ गते नेप्सेका कर्मचारीहरूको पक्षमा अदालतले फैसला सुनाए पनि सञ्चालक समितिले त्यसअनुसार निर्णय नगरेपछि कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनको क्रममा कर्मचारीहरूले अध्यक्ष बस्याल तथा प्रमुख कार्यकारी अधिकृतमा चापागाइँ राजनीतिक स्वार्थप्रेरित नियुक्ति भएको भन्दै त्यसको पनि विरोध गरिरहेका छन् । यसैगरी नेपाल धितोपत्र बोर्डका कर्मचारीहरू पनि अहिले विभिन्न मागहरू राखेर आन्दोलनमा उत्रिरहेका छन् । यही असोज २ गते राजस्वसचिव दिनेशकुमार घिमिरेले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ खारेज गर्ने निर्णय गरेपछि बोर्डका कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका बोर्डका कर्मचारीहरूले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नेतृत्वमा अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा र राजस्व व्यवस्थापन महाशाखा प्रमुखहरूलाई भेटेर विभिन्न चरणमा छलफल भएपनि माग पुरा नभएको भन्दै अझै आन्दोलन टुङ्गिएको छैन ।