काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या छिटो समाधान गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएकी छन्। प्रधानमन्त्री समेत रहेका स्वास्थ्य मन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर आन्दोलनरत नर्सहरूको विषयमा तत्काल पहल गर्न आदेश दिइन्। उनले मन्त्रालयले समस्याको जड बुझेर तुरुन्त समाधान हुने गरी ठोस कदम चाल्न र प्रगतिबारे जानकारी दिन निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। प्रधानमन्त्री कार्कीले दक्ष जनशक्तिलाई अत्यन्तै न्यून पारिश्रमिकमा राख्नु अनुचित भएको बताउँदै, “नर्सहरूको समस्या समयमै समाधान नभए स्वास्थ्य क्षेत्रबाट ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्छ,” भन्ने चिन्ता व्यक्त गरिन्। स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार पाँचौँ तह बराबरको पारिश्रमिक पाउनुपर्ने माग गर्दै कास्कीस्थित मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजका नर्सहरू केही दिनदेखि आन्दोलनमा छन्। मन्त्रालयले गत मङ्सिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको तलब ३४ हजार ७३० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको थियो।