काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेप रकम ७४ खर्ब रुपैैयाँ नाघेको छ । पछिल्लो अधावधिक निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी प्रतिवेदनले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहितका कुल ५४ वटा संस्थाहरुको कुल निक्षेप रकम ७४ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको देखिएको हो । यसअवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम ५६ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार गत सातासम्ममा वाणिज्य बैंकहरुको मात्र कुल निक्षेप रकम ६६ खर्ब ९० अर्ब रुपैयाँ रहेको छ भने कुल कर्जा रकम ४९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको छ । यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम सात खर्ब ५४ अर्ब रुपैयाँ हुँदा कुल कर्जा रकम छ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ । यसअवधिमा बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा अनुपात अर्थात् सीडी रेसियो भने ७४ दशमलव ५९ प्रतिशत रहेको छ ।
चालू आर्थिक वर्षको पछिल्लो दुई महिना अर्थात् भदौ मसान्तसम्ममा भने बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३२ अर्ब ८६ करोड अर्थात् शून्य दशमलव पाँच प्रतिशतले बढेर ७२ खर्ब ९६ अर्ब ७४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३५ अर्ब तीन करोड रुपैयाँ अर्थात् शून्य दशमलव पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२ दशमलव पाँच प्रतिशतले बढेको छ । २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः पाँच दशमलव आठ प्रतिशत, ३८ प्रतिशत र ४७ दशमलव नौ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः पाँच दशमलव दुई प्रतिशत, ३१ प्रतिशत र ५६ दशमलव सात प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशमलव दुई प्रतिशत रहेको छ । २०८१ भदौ मसान्तमा यस्तो निक्षेपको अंश ३६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४९ अर्ब २४ करोड रुपैयाँ अर्थात् शून्य दशमलव नौ प्रतिशतले बढेर ५५ खर्ब ४६ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७३ अर्ब ३९ करोड अर्थात् एक दशमलव चार प्रतिशतले बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा सात दशमलव आठ प्रतिशतले बढेको छ । २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२ दशमलव आठ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ दशमलव दुई प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ प्रतिशत र ३६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह एक प्रतिशत र फाइनान्स कम्पनीहरूको शून्य दशमलव आठ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह शून्य दशमलव एक प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको सुरक्षणमा १५ दशमलव एक प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४ दशमलव तीन प्रतिशत रहेको छ । २०८१ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३ दशमलव दुई प्रतिशत र ६६ दशमलव दुई प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा दुुई दशमलव छ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा एक दशमलव नौ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा एक दशमलव एक प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा एक प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा एक प्रतिशतले बढेको छ भने सेवा उद्योग क्षेत्रतर्फको कर्जा शून्य दशमलव तीन प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रस्ट रिसिट अर्थात् आयात कर्जा छ दशमलव सात प्रतिशत, मार्जिन प्रकृतिको कर्जा तीन दशमलव पाँच प्रतिशत, क्यास क्रेडिट कर्जा एक दशमलव सात प्रतिशत, आवधिक कर्जा एक दशमलव एक प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) शून्य दशमलव आठ प्रतिशत र हायर पर्चेज कर्जा शून्य दशमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।