काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विशिष्ट बचत खाताअन्तर्गत नेपालकै पहिलो ‘डोर स्टेप बैंकिङ सेवा’ सार्वजनिक गर्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको छ । यो सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैकिङ सुविधा लिन चाहने ग्राहकहरुको लागि प्रत्यक्ष रुपमा फाइदाजनक हुनेछ ।
अत्याधुनिक प्रविधिमा आधारित यस सेवाअन्तर्गत ग्राहकहरुले बैंकले प्रदान गर्ने विभिन्न सेवाहरु जस्तैः नगद जम्मा गर्ने, खाताबाट नगद झिक्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट तथा अन्य सुविधाहरु आफ्नो घर वा कार्यालयमा वसेर प्राप्त गर्न सक्नेछन् । यो सुविधाहरु निःशुल्करुपमा प्रदान गरिएको छ । ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत आवश्यक सेवा अनुरोध गर्न सक्ने र अनुरोध प्राप्त भएपछि बैैंक प्रतिनिधिले अनुरोध गरिएको स्थानसम्म नै पुगी उक्त सेवा प्रदान गर्ने बैंकले जनाएको छ । यसले डिजिटल बैंकिङको प्रवद्र्धन गर्दै बैंकिङ पहुँचलाई अझ सहज, सरल र प्रविधिमैत्री बनाइएको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई सुरुवात गरिएको यो सुविधा नेपालकै पहिलो डोर स्टेप बैंकिङ सेवा हो । विश्वका केही विकशित देशहरुमा ग्राहकको घरमै पुगेर बैंकिङ सुविधा प्रदान गर्ने प्रचलन रहे पनि नेपालको बैंकिङ इतिहासमा पहिलो भएको र कामना सेवाले यस्तो सुविधा ल्याएर नेपालको बैंकिङ क्षेत्रमा नवीनतम् सुविधाको थालनी गरेको बैंकका प्रमुख मार्केटिङ अधिकृत दिपेन्द्र सुवेदीले जनाए ।
प्रमुख मार्केटिङ अधिकृत सुवेदीका अनुसार बैंकले यो सुविधाले ग्राहकको सन्तुष्टिलाई मुख्य प्राथमिकता मान्दै डिजिटल प्रविधिमा आधारित सुविधास्वरुप यसको सुरुवात गरिएको हो, जसले ग्राहकहरुलाई समयको बचत, सहजता, सुरक्षाको पूर्ण अनुभूति गराउनेछ । यो सुविधा दैनिकरुपमा व्यस्त रहने व्यवसायी, कार्यालयका कर्मचारी, गृहिणी, ज्येष्ठ नागरिकहरुका लागि अत्यन्त उपयोगी हुने विश्वास बैंकले लिएको छ । ग्राहकको लामो लाइन, बैंकसम्म पुग्ने समय तथा कागजी झन्झट नलिई घरमै बसेर बैंकका सुविधा उपभोग गर्न सकिनेछ । यो सुविधाअन्तर्गत बैंकको लकर सुविधा, एटीएम डेबिट कार्ड, मोबाइल बैंकिङ सुविधा समेत निःशुल्क रहेको छ ।
हाल यो सुविधा काठमाडौं, ललितपुर र भक्तपुरमा सुरुवात गरिएको र बिस्तारै देशैभर यो सुविधा विस्तार गर्ने बैंकले जानकारी दिएको छ ।