काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्ससँग पुनः सहकार्य गर्दै आधिकारिक इन्स्योरेन्स पार्टनरको रूपमा आफ्नो सहभागिता सुदृढ गरेको छ । उत्कृष्टता र प्रतिबद्धताप्रति समान दृष्टिकोण राख्ने दुई प्रतिष्ठित संस्थाबीचको यो निरन्तर साझेदारी खेलकुदको विकास र सुरक्षाप्रति हाम्रो साझा विश्वासको प्रतिविम्ब हो ।
सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री भन्छन्, ‘हामी सुदूरपश्चिम रोयल्ससँग पुनः सहकार्य गर्न पाउँदा अत्यन्त हर्षित छौँ । जोखिम व्यवस्थापनमा अग्रसर कम्पनीका रूपमा हामी खेलाडीहरूलाई आत्मविश्वासका साथ खेल्न प्रोत्साहित गर्न चाहन्छौँ । आशा छ, यस सिजनमा कप सुदूरपश्चिममा आउनेछ ।’
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का भन्छन्, सलिकोजस्तो प्रतिष्ठित ब्रान्डसँग पुनः सहकार्य गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो । उहाँहरूको निरन्तर साथले एनपिएललाई अझ उचाइमा पु¥याउनेछ र थप संस्थाहरुलाई खेल क्षेत्रमा लगानी गर्न प्रेरित गर्नेछ ।’
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले नेपालभरका एक सयभन्दा बढी शाखामार्फत व्यक्तिगत तथा कर्पोरेट ग्राहकहरूलाई बीमाका विविध सेवा प्रदान गर्दै आएको छ । विश्वास, सुरक्षात्मक सोच र सामाजिक उत्तरदायित्वमा आधारित सलिको खेलकुदको उत्थान र राष्ट्रिय गौरवका प्रतीक खेलाडीहरूको साथमा निरन्तर प्रतिबद्ध रहिरहनेछ ।