काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेल ४८औँ सार्क फाइनान्स गभर्नर्स गुप मिटिङमा सहभागी भएका छन् । अमेरिकाको वासिङ्टन डिसीमा भएको यो बैठक विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा आयोजना गरिएको हो ।
बंगलादेश बैंकका गभर्नर डा. असान एच मन्सुरको अध्यक्षतामा भएको उक्त बैठकमा दक्षिण एसियाली मुलुकका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका अधिकारी तथा अन्य प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठक उद्घाटन मन्तव्य राख्दै बंगलादेश बैंका गभर्नर मन्सुरले दक्षिण एसिया क्षेत्रमा केन्द्रीय बैैंकबीच क्षेत्रीय सहकार्य र असल अभ्यासको आदानप्रदानको लागि सार्क फाइनान्स साझा मञ्च भएको धारणा व्यक्त गरे । सो अवसरमा सहभागी केन्द्रीय बैंकको तर्फबाट आ–आफ्नो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे प्रस्तुति दिइएको थियो ।
बैठकमा सार्क पेमेन्ट काउन्सिलको प्रभावकारिता, सार्क क्षेत्रमा वित्तीय समावेशीकरण, सार्क मुलुकबीच ’करेन्सी स्वाप’ को सम्भावना, साझा अनुसन्धान र तथ्याङ्ग प्रणाली, सार्क छात्रवृत्ति र आगामी कार्यदिशाका विषयमा सहभागीहरूबीच छलफल भएको थियो । कार्यक्रममा सहभागी केन्द्रीय बैंकका गभर्नरहरूबाट सार्क सदस्य राष्ट्रबीच आगामी दिनमा आर्थिक तथा वित्तीय क्षेत्रका समसामयिक विषयमा समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।
बैठकलाई सम्बोधन गर्दै गभर्नर पौडेलले नेपालको वर्तमान आर्थिक स्थितिको विश्लेषण गर्दै मुद्रास्फीति र बाह्य क्षेत्रका सूचकहरू सहज अवस्थामा रहेको बताए । तथापि, हालै विकसित राजनीतिक परिस्थितिका कारण वित्तीय सन्तुलन र दिगो आर्थिक वृद्धिका प्रयासमा चुनौती थपिएको धारणा उनले राखे । उक्त चुनौतीलाई सम्बोधन गर्दै अर्थतन्त्रको पुनरुत्थान र गतिशीलताको निम्ति नीतिगत सहजीकरणको प्रयास थालिएको जानकारी गभर्नर पौडेलले दिए । बैठकमा गभर्नर, अर्थ मन्त्रालयका अधिकारी र अन्य प्रतिनिधिको सहभागिता थियो ।