काठमाडौं । सरकारले यस वर्षको कुल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटमा तीन महिनामा ३ खर्ब ६४ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको छ । यो चालू आर्थिक वर्षको वार्षिक विनियोजनमध्ये १८.५६ प्रतिशत हो ।
गत असोज मसान्तसम्ममा चालूतर्फ वार्षिक विनियोजनको २१ दशमलव ७५ प्रतिशत अर्थात् दुई खर्ब ५६ अर्ब ८० करोड ६० लाख खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यस्तै, पुँजीगत अर्थात् विकासतर्फ वार्षिक विनियोजनको चार दशमलव सात प्रतिशत अर्थात् १९ अर्ब १८ करोड ३४ लाख र वित्तीय व्यवस्थातर्फ २३ दशमलव ६१ प्रतिशत अर्थात् ८८ अर्ब ६० करोड बराबर खर्च भएको छ ।
यही अवधिमा सरकारको राजस्व संकलन वार्षिक लक्ष्यको १६ दशमलव ५१ प्रतिशत छ । यस वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेकामा हालसम्म दुई खर्ब ५३ अर्ब १८ करोड ७९ असुली गर्नसकेको छ । आन्तरिक राजस्वतर्फ १४ खर्ब ८० अर्ब उठाउने सरकारी लक्ष्य रहेकामा असोज मसान्तसम्ममा वार्षिक लक्ष्यको १६ दशमलव ८३ प्रतिशत अर्थात् दुई खर्ब ४९ अर्ब पाँच करोड १४ लाख असुली भएको कार्यालयले उल्लेख गरेको छ ।
यसैगरी ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने लक्ष्य रहेकामा हालसम्म तीन दशमलव ७६ प्रतिशत अर्थात् दुई अर्ब ७२ लाख प्राप्ति भएको छ ।