काठमाडौं । बैंकहरूले कात्तिक महिनाको लागि व्यक्तिगततर्फको निक्षेपको ब्याज झनै घटाएका छन् । असोज महिनाको लागि व्यक्तिगत निक्षेपतर्फ औसतमा पाँच दशमलव ४६ प्रतिशत ब्याजदर तोकेका बैंकहरूले कात्तिक महिनाको लागि यस्तो ब्याजदरमा शून्य दशमलव २६ प्रतिशतले घटाएर औसत ब्याजददर पाँच दशमलव २० प्रतिशत कायम गरेका हुन् ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्येमा सातवटाले स्थिर राख्दा १३ वटाले भने घटाएका छन् । जसमध्ये नबिल बैंकले कात्तिक महिनाको लागि चार दशमलव ९५ प्रतिशत ब्याजदर तोकेको छ । असोज महिनाको नबिलको यस्तो ब्याजदर पाँच दशमलव पाँच प्रतिशत रहेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा, माछापुच्छ्रे र हिमालयन बैंकले भने कात्तिक महिनाको लागि क्रमशः पाँच दशमलव २५, पाँच र छ प्रतिशत ब्याजदर कायम गरेका छन् । असोज महिनाको लागि यी बैंकहरूको यस्तो ब्याजदर क्रमशः पाँच दशमलव २५, छ र छ प्रतिशत रहेको थियो । यसैगरी नेपाल एसबीआई, एभरेष्ट र एनआईसी एसिया बैंकले पनि कात्तिक महिनाको लागि क्रमशः पाँच, पाँच र पाँच दशमलव ७५ प्रतिशत ब्याजदर कायम गरेका छन् । असोज महिनाको लागि यी बैंकहरूको यस्तो ब्याजदर क्रमशः पाँच दशमलव १८, पाँच दशमलव २८ र छ प्रतिशत रहेको थियो । स्टान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज र कुमारी बैंकले भने कात्तिक महिनाको लागि क्रमशः पाँच, पाँच र पाँच दशमलव एक प्रतिशत ब्याजदर तोकेका छन् । असोज महिनाको लागि भने यी बैंकहरूको यस्तो ब्याजदर क्रमशः पाँच दशमलव १८, पाँच दशमलव २५ र पाँच दशमलव शून्य एक प्रतिशत रहेको थियो ।
चालू आवको कात्तिक महिनाको लागि सिद्धार्थ, सानिमा र एनएमबी बैंकले भने क्रमशः पाँच दशमलव पाँच, पाँच दशमलव १५ र पाँच प्रतिशत ब्याजदर तोकेका छन् । अघिल्लो महिनामा यी बैंकहरूको यस्तो ब्याजदर क्रमशः पाँच दशमलव पाँच, पाँच दशमलव २६ र छ प्रतिशत रहेको थियो । प्रभु, ग्लोबल आईएमई र सिटिजन्स बैंक इन्टरनेसनलले भने कात्तिक महिनाको लागि क्रमशः चार दशमलव ९५, छ र छ प्रतिशत ब्याजदर तोकेका छन् । असोज महिनाको लागि यी बैंकहरूको यस्तो ब्याजदर क्रमशः पाँच दशमलव ३५, छ र छ प्रतिशत रहेको थियो ।
प्राइम र कृषि विकास बैंकले भने कात्तिक महिनाको लागि क्रमशः पाँच र चार दशमलव ९५ प्रतिशत ब्याजदर तोकेका छन् । असोज महिनामा यी दुई बैंकको यस्तो ब्याजदर क्रमशः पाँच दशमलव पाँच र पाँच दशमलव शून्य पाँच प्रतिशत रहेको थियो । यसैगरी नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि कात्तिक महिनाको लागि क्रमशः पाँच दशमलव २५ र पाँच दशमलव पाँच प्रतिशत ब्याजदर तोकेका छन् । असोज महिनामा यी बैंकहरूको यस्तो ब्याजदर क्रमश पाँच दशमलव २५ र पाँच दशमलव पाँच प्रतिशत नै रहेको थियो ।