काठमाडौं । गत भदौ २३ र २४ को जेन–जी प्रदर्शनका क्रममा आफ्नो भूमिकालाई लिएर सार्वजनिक रुपमा आलोचना बढेपछि नेपाली सेनाले त्यसको बचाउ गरेको छ ।
खासगरी आँखैअगाडि प्रदर्शनकारीको हुलले सिंहदरबारलगायत महत्वपूर्ण सरकारी संरचनामा आगजनी र तोडफोड गर्दा समेत सेना चुप लागेर बसेको भन्दै राजनीतिक दलका नेता तथा सार्वजनिक वृत्तमा प्रश्न उठेको थियो ।
त्योसँगै असोज ३१ गते सैनिक मुख्यालय जङ्गीअड्डामा पत्रकार सम्मेलन गरेर सेनाले आफ्नो बचाउ गरेको हो । युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले ठूलो सम्भावित मानवीय क्षति टार्न खोज्दा भौतिक र्संरचना जोगाउन नसकिएको बताए ।
पहिलो चरणमा सिंहदबारभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई सेनाले रोक्न सफल भए पनि ठूलो संख्यामा थपिएको भीडलाई रोक्न घातक हतियारको प्रयोग गर्नुपर्ने अवस्था भएकाले त्यसबाट हुनसक्ने मानवीय क्षति रोक्न विशेष सचेतता अपनाइएको सेनाको प्रस्टीकरण छ ।
पटक पटक प्रदर्शनकारीलाई सिंहदरबार प्रवेशमा रोक्न खोजे पनि नसकिएको उनको भनाइ छ । ‘हामीले हवाइ फायर गर्यौँ, आन्दोलनकारीलाई भित्रबाट दुईतीन पटक सम्झाइबुझाइ गरेर पठायौँ । तर पछि चारैतिरबाट प्रवेश गरेपछि कि ठूलै मानवीय क्षति हुने गरेर बल प्रयोग गर्नुपर्थ्यो कि सेना पछि हट्नुपर्थ्यो । हामीले तत्कालीन परिस्थितिलाई विश्लेषण गरेरै निर्णय गरेका हौं’, उनले शुक्रबार भने ।
‘सुरक्षा चुनौतीप्रति गम्भीर छौं’
त्यसैगरी नेपाली सेनाले जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीको सम्भावित समिश्रणबाट समाजमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
सेनाले ती हतियार र कैदीबन्दी फिर्ता गर्नका लागि साझा प्रयास गर्न सबै तह र तप्कालाई हार्दिक अपिल गरेको छ । नेपाली सेनाका अनुसार आन्दोलनका क्रममा १५ हजार ५८८ कैदीबन्दी तथा थुनुवा फरार भएकामा हालसम्म आठ हजार ७९९ फिर्ता भइसकेका छन् । अरु कैदी तथा थुनुवा अझै फरार छन् ।
सुरक्षा निकायको लुटिएका नौ सय ७८ नालमध्ये हालसम्म पाँच सय ८६ नाल हतियार फिर्ता भएका छन् । अरु अझै बेपत्ता अवस्थामा छ । उपत्यकाभित्र मात्रै नेपाली सेनाले प्राप्त गरेका हतियारमध्ये दुई सय ७४ नाल नेपाल प्रहरी र १२ नाल सशस्त्र प्रहरी बललाई बुझाइसकेको जानकारी दिएको छ ।
मर्ने २२ जना प्रदर्शनकारी, अरु को को ?
जेन–जी आन्दोलनका क्रममा चार सय ८४ स्थानमा भएको प्रदर्शनीमा २२ जना प्रदर्शनकारी, तीन जना प्रहरी, १० जना कैदी र अन्य ४१ जनाको मृत्यु भएको थियो । त्यसक्रममा छ सय ८८ वटा सरकारी कार्यालयलगायत अन्य भौतिक संरचनामा तोडफोड र आगजनीबाट क्षति पुगेको थियो ।
पत्रकार सम्मेलनमा युद्धकार्य विभागका प्रमुख थापाले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै समग्र मुलुकको आगामी कार्यदिशा स्पष्ट र परिणाममुखी हुन जरुरी धारणा व्यक्त गरे । उनले भने, ‘सोका लागि सेनाले आफ्नो स्रोत, साधन र पेसागत क्षमता अभिवृद्धि गर्दै कुनै पनि सम्भावित चुनौतीको सामना गर्न सदा तयार रहनुपर्ने आवश्यकता महसुस गरेका छौँ ।’
जेन–जी आन्दोलनपछिको अन्योलता, शंका–उपशंका, विभिन्न प्रश्नकाबीच सेनाले शान्ति सुरक्षा तथा अमनचयन कायमका लागि सुरक्षा अवस्थाको वस्तुगत ढङ्गले मूल्यांकन असल नियत र सही अभिप्रायसाथ कार्य गरेकाले ती प्रश्नका उत्तर आफैँ प्रष्ट हुँदै गइरहेको उपरथी थापाको भनाइ थियो ।
उनले भने, ‘आउँदा दिनमा राष्ट्रिय तहमा आधारभूत विषयमा निकासका उपायहरू पहिचान गर्न सम्पूर्ण विद्वत वर्ग, समाजसेवी, सञ्चारकर्मी र आमनागरिकले सामाजिक सद्भाव, राष्ट्रिय एकता र संस्थागत स्थायित्वलाई पहिलो प्राथमिकतामा राखी आआफ्नो भूमिकाबाट योगदान पुर्याउनुपर्ने आजको आवश्यकता हो ।’
राष्ट्रमा असहज परिस्थिति आइपर्दा सबै एकजुट हुने नेपालीको संस्कार भएको स्मरण गराउँदै उपरथी थापाले राष्ट्रिय एकता नै संकट, विपद् र विषम परिस्थितिमा आफ्नो त्यो संस्कारलाई जगेर्ना गर्दै राष्ट्रिय हितको संरक्षणमा हातेमालो गर्न अपिल गरे ।
४१ स्थानबाट फिर्ता भयो, २१ स्थानमा अझै तैनाथ
जेन–जी प्रदर्शनपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज स्थिति सामान्य हुँदै गएपछि ४१ स्थानबाट फिर्ता भएको छ ।
गत भदौ २३ र २४ को प्रदर्शनपछि उत्पन्न परिस्थितिमा उपत्यकाभित्र पाँच र उपत्यका बाहिर ५७ गरी कूल ६२ वटा कारागार तथा महत्त्वपूर्ण संरचनाको सुरक्षार्थ सेना खटिएको थियो ।
सुरक्षा चुनौतीलाई ध्यानमा राखी अझै पनि २१ स्थानमा फौज तैनाथ भइरहेको सेनाले जनाएको छ । प्रदर्शनबाट सिर्जित आगजनी, तोडफोड र दङ्गा जस्तो अप्ठ्यारो परिस्थितिमा छदेखि आठ घण्टाको तैनाथीमा उक्त अवस्था नियन्त्रणमा ल्याउन सफल भएको सेनाका उपरथी एवं युद्र्धकार्य महानिर्देशक थापाले जानकारी दिए ।
के जोगायो ?
सेनाले अधिकांश सरकारी संरचनामा आगजनी भए पनि महत्वपूर्ण भवन र कार्यालयहरु भने जोगाएको दाबी गरेको छ ।
सेनाका अनुसार सिंहदरबारको मुख्य भवनमा आगजनी भए पनि सेनाको पहलबाट त्यहाँभित्रका रणनीतिक महत्त्वका कागजातको राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको ‘डाटा सेन्टर’ आगजनीबाट जोगाउन सफल भएको उपरथी थापाले जानकारी दिए ।
मुलुकको समग्र सुरक्षा अवस्थाको जिम्मेवारी सम्हालेपछि सेनाले सञ्चालनमा ल्याएको ‘हटलाइन’मा प्राप्त चोरी, लुटपाट र आगजनीजस्ता गुनासाको तत्काल सम्बोधन गरी सुरक्षाको प्रत्याभूति दिइएको सेनाले जनाएको छ ।
‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आक्रमण गर्ने उद्देश्यका साथ भेला भएका करिब दुई हजार जना प्रदर्शनकारीलाई रोकी भदौ २५ गतेदेखि नै विमानस्थल पूर्ण रूपमा सञ्चालन गरिएको थियो’, महानिर्देशक थापाले भने, ‘विमानस्थलमा फसेका विदेशी पर्यटकको समेत यथोचित सुरक्षा गरिएको थियो । साथै उपत्यकामा रहेका विभिन्न कूटनीतिक नियोग तथा विदेशी नागरिकको सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको थियो ।’