काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं, सिनामगंलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेषज्ञ उपचार सेवामा छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पत्रअनुसार सिटिजन्स् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले काठमाडौं मेडिकल कलेज प्रालिमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ, फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ उत्पादन सुरु गरेको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना दुई सय वटा शाखा, एक सय ६९ वटा ए.टि.एम., तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरूबाट १९ लाख ४४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।