नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो एआई उत्तराधिकार कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्कालाई तोकेपछि त्यसबाट असन्तुष्ट दाबेदार गोपालमान श्रेष्ठ, अर्जुननरसिंह के.सी., विजय गच्छदार, बालकृष्ण खाण, डा. प्रकाशशरण महत, शेखर कोइराला, शशाङ्क कोइराला, विमलेन्द्र निधि, कृष्ण सिटौलादेखि गगन थापासम्म आदि इत्यादिका बारेमा त यथासमय यथास्थान तथ्य विवरण पाठ्यक्रम जेन–जी पुस्ता (नवजागरण) माझ अवश्य अभिलेख गर्ने नै छु । गिरिजापुत्री सुजाता कोइरालाले नोनापुत्र तथा गिरिजा भतिज शेखर कोइरालाबाहेक अरू कसैलाई देउवाको उत्तराधिकार नमान्ने भनेकी छिन् । उनका बारेमा माथि उल्लिखित आदि इत्यादि सबै उत्तराधिकार दाबेदारका सोच, समझ, नियतका बारेमा मलाई न्वारानदेखिका (न्वारान भन्नाले जन्ममिति नभएर कांग्रेस भएका मिति हो) एक रौँभर पनि तलमाथि नहुने गरी तथ्य प्रमाण पुष्टि भएका सबै विवरण थाहा छ । यहाँ भने पूर्णबहादुर खड्कासँगका साक्षात्कार विवरण अलिकति स्मृत अध्यावधिक गर्दैछु ।
न्वारानदेखिको जान्दछु भनेपछि त्यसको लिगेसी आधिकारिकताका लागि आफ्नै बारेको पनि अलिकति विवरण आवश्यक हुन्छ । विसं २०२८ सालमा बनारस (काशी) मा जननायक बीपी कोइरालाले कमरेड पुष्पलाल श्रेष्ठ समक्ष ‘तपार्इँ मेरो राजनीतिक प्रस्तावमा आँखा चिम्लेर हस्ताक्षर गर्नुहोस्, म तपाईँको आर्थिक प्रस्तावमा आँखा चिम्लेर हस्ताक्षर गर्छु’ भन्ने प्रस्ताव राख्नु हुँदा म अखिल भारत नेपाल विद्यार्थी संघ (अभानेविसं) बनारस शाखाको निर्वाचित समाज सेवा सचिवको हैसियतले उपस्थित थिएँ । त्यस बखत मेरो उमेर १७ वर्ष (आजको जेन–जी पुस्ता सरह) थियो । अहिलेका सभापति देउवाका एक एआई उत्तराधिकार दावेदार शशांक कोइराला (बीपीका कान्छा पुत्र) लाई भीमबहादुर तामाङले औँला समाएर स्कुल लाने ल्याउने गर्दा म गंगा किनारको बालुवाको थुप्रोको आडमा सहिद यज्ञबहादुर थापा र गोपाल राइबाट बम बन्दुक प्रशिक्षण लिइरहेको हुन्थ्येँ । १९ वर्षको उमेरमा (क्रान्तिको हिंसात्मक अहिंसात्मक बाटोको फरकबारे थाहा थिएन) फाँसी या जन्मकैद हुन सक्ने राजकाज मुद्दा धारा ४ अन्तर्गत जेल पुगेँ । एम्नेस्टी इन्टरनेसनल नेपाल शाखाकी दुर्गा पोखरेलले मेरो जेल वासको तस्बिर एम्नेस्टी जर्नलमा प्रकाशित गरिदिएकी कारण एउटै मुद्दा र परिस्थितिका नक्खुको ओरालोमा मारिएका चार सहिदमा पाँचौँ हुन पाइनँ । त्यही इतिहासका कारण प्रदीप गिरिले हमेशा आफ्ना लेख र वचनमा मलाई ‘जिउँदो सहिद’ सम्बोधन गर्ने गर्नुहुन्थ्यो । २०३७ सालको आममाफीपछि बीपी बाँचुञ्जेल आफ्ना जनसम्बोधनका मञ्चहरूमा सँगै राखेर भाषण गर्न सिकाउनु हुन्थ्यो । बीपीको शेषपछि गणेशमान, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, सीके प्रसाईँको अत्यन्त निकट र भरपर्दो युवा नेताको रूपमा काम गरेँ । ०४६ सालसम्मका अधिराज्यव्यापी जति पनि पार्टीका क्षेत्रीय भेला र प्रशिक्षण शिविरहरू भए एउटै पनि नबिराई भाग लिएँ । गणेशमानजी, भट्टराईजीले अह्राएअनुसार मार्सल जुलुम शाक्य, भीमबहादुर तामाङ, उदयपुरका अर्जुन कुमार खड्काको टिम सदस्य हुने गर्दथ्येँ । तीनैजना नामुद जँड्याहा उनीहरूको सङ्गतमा आफू पनि कहिलेकाहीँ मातिँदा गणेशमान, भट्टराईबाट हकराई पनि पाउँथ्येँ । त्यस उप्रान्त आजका मितिसम्म एक क्षण र एक निमेष पनि यताउति नभर्ई कांग्रेसको मूल सिद्धान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवाद प्राप्तिको बाटोमा अहोरात्र हिँडिरहेको छु ।
कांग्रेसभित्र विचारधाराको बाटो हिँड्न खोज्दा लखेटिएको कुटिएको (शैलजासँगको चप्पल हानाहान प्रकरण) र इतिहासमा मात्र जीवित पारिएको कथाव्यथा बताएर साध्यै छैन । यसैकारण गणेशमान, कृष्णप्रसाद भट्टराई, सीके प्रसाईँ आदि इत्यादिलाई लखेटेर देश बेच्ने, जनता लुट्ने बाटोमा (७५ लाख जनताका सहकारीमा बचत ठगी र लुट त एउटा उदाहरण मात्र हो) गिरिजापछिको कांग्रेस हिँडेको कारण त्यसपछिका आम कांग्रेसी जनले मलाई नचिने पनि पूर्णबहादुर खड्का उताका या उनका समकालीन अधिराज्यका सम्पूर्ण कांग्रेसजनको न्वारानदेखिको कुण्डली मसँग सम्झनामा छर्लङ्ग छ भनेको हुँ ।
राजा महेन्द्रले खडा गरेका उद्योग कारखाना जोगाएर कृषि प्रणालीमा आत्मनिर्भर हुने बीपी विचारमा कांग्रेसलाई हिँडाएर १० वर्षमा जापान, सिङ्गापुर, इजरायलको आर्थिकस्तरमा पुग्ने आफ्नो संघर्ष खेर गएकोमा भगवान्बाहेक अन्यत्र गुनासोको कुनै अर्थ रहेन ।
उमेरका हिसाबले पूर्णबहादुर खड्का र म एउटै उमेरका रहेछौँ । विसं २०४० सालतिरको कुरो हो । पहिलोपटक कृष्णप्रसाद भट्टराइले परिचय गराउनुभएको थियो । त्यस बखत मेरो ड्युटी किशुनजीको छाता बोकेर पछिपछि हिँड्ने सहयोगीको थियो । पुतलीसडक अक्षर प्रेसको गल्लीमा किशुनजी, वासु रिजाललगायत हामी कतै हिँडिरहेका थियौँ । कतैबाट हान्निँदै खड्का त्यहाँ आइपुगे । उनलाई भारतीय दूतावासमा किशुनजीको कुनै सिफारिस चाहिएको रहेछ र पहिले नै कुरा भइसकेको रहेछ । भारतीय दूतावाससँग आफ्नो तर्फबाट कुनै सम्पर्क गर्न किशुनजीको पोजिसनले दिँदैन थियो । तर यो कुरो बुझ्न सक्ने पूर्णसँग राजनीतिक चेतना नभएका कारण सम्झाउन अप्ठेरो भइरहेको थियो । प्रदीप गिरीको भारतीय दूूतावासमा राम्रो सम्पर्क रहेको र मेरो प्रदीप गिरीसँग घनिष्ठ मित्रता रहेको किशुनजीलाई थाहा थियो । ‘यिनी नेविसंघका होनहार नेता हुन् । मैले भनेको भनेर प्रदीप गिरीसँग भेट गराइदेऊ’ । किशुनजीको त्यस परिचयपछि पूर्णबहादुर खड्काका बारेमा मेरो धारणा लामो समयसम्म सकारात्मक नै थियो । त्यस बखतसम्म कांग्रेसभित्र गणेशमान–गिरिजा द्वन्द्व विस्फोटक अवस्थामा पुगिसकेको थिएन ।
कालक्रममा सत्याग्रह (अहिंसात्मक आन्दोलन)मा जाने नजाने विषयमा भट्टराई–गिरिजा द्वन्द्व चर्कियो । किशुनजीको अग्रसरतामा पार्टीको तर्फबाट ‘सत्याग्रह किन र कसरी ?’ नामक पुस्तिका प्रकाशित भयो । त्यो पुस्तिका लिएर गणेशमान, भट्टराई, गिरिजा पूर्वका तीनवटा र पश्चिमका तीनवटा क्षेत्रीय भेलामा जाने कार्यक्रम बन्यो । पोखराबाट उद्घाटन भएकोमा त्यही समय भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भयो । शैलजा, शेरबहादुर, चिरञ्जीवी, रामचन्द्र आदिको एउटा गिरिजा झुण्डले त्यसैलाई बहाना बनाएर पुस्तिका वितरणमा प्रतिबन्ध लगाउन दबाब सिर्जना गरे । सार्क क्षेत्रमा उथलपुथल हुने तर्क निकालेका थिए । पुस्तिकामा महात्मा गान्धीले बताएका एउटा सत्याग्रहीले अपनाउनुपर्ने आचारविचार बानी व्यहोराबाहेक कुनै राजनीतिक कुरा थिएन र आम कांग्रेसजनका पाठ्यक्रममा त्यो पुस्तिका पुगेर कसैलाई हानिनोक्सानी पुग्ने कुरो थिएन । किशुनजीले भन्दा उधारो पनि छापिदिने आदरणीय सहयोगी व्यक्तित्व पन्नालाल श्रेष्ठको प्रेसबाट पाँच सय प्रतिझोलामा बोकेर हरेक भेलामा पुगेर कांग्रेस जिल्ला सभापतिहरूका हातमा १५ प्रति र नेविसंघ जिल्ला सभापतिका हातमा १० प्रतिका हिसाबले हातहातमा पुर्याइदिएँ । प्रतिबन्धित पुस्तिका कांग्रेस नेविसंघ जिल्ला नेतृत्वका हातहातमा देख्दा गणेशमान किशुनजी त मनमनै मुस्कुराउनु भयो तर गिरिजा भने रिसले आगो भए । मलाई जहाँ भए पनि घिसारेर भए पनि भट्टराई समक्ष पुर्याउन तत्कालीन नेविसंघ उपाध्यक्ष पूर्णबहादुर खड्कालाई अह्राएछन् । गणेशमानपुत्र प्रकाशमान सिंह र १९ वर्ष जेल बसेका पहलमान टाइपका दलसिंह थापा मगरको संरक्षण सुरक्षामा रहने गरेका कारण मेरो मञ्जुरी बेगर घिसारेर कृष्णप्रसाद समक्ष पुर्याउन पूर्णबहादुर खड्कालाई सम्भव भएन । मलाई त्यसरी घिसारेर भए पनि किशुनजीका अगाडि हाजिर गराउनु अह्राएकोमा पूर्णबहादुर खड्काले नसकेकोमा गिरिजा उनीसँग कति रिसाए ? त्यो त मलाई थाहा भएन । तर त्यसपछि यताका कालखण्डमा गिरिजाका लागि पूर्णबहादुर खड्काभन्दा खुमबहादुर खड्का, विजय गच्छदार, गोविन्दराज जोशी प्राथमिकतामा पर्न थालेका भने साँचो हो ।
यसमा मलाई गुनासो कति मात्र भने त्यत्रो मिहिनेत गरेर मैले देशव्यापी कांग्रेस नेविसंघ जिल्ला नेतृत्वका हातहातमा पुर्याइदिएको पुस्तिका त्यसको छ महिनापछि पार्टी स्वयम्ले नै केन्द्रीय कार्यालयको कामको उपलब्धिका रूपमा आमकार्यकर्तालाई बाँड्न थाल्दा धन्यवादको एक शब्द पनि पाइनँ । जुन गुनासोबारे कांग्रेसका गण्डकी प्रदेश प्रमुख शुक्रराज शर्माले आफ्नो पुस्तक ‘कांग्रेसमा समर्पित ५२ वर्ष’ मा विस्तारपूर्वक अभिलेख गरेका छन् । त्यसरी पुस्तिका वितरण गर्दा गिरिजा रिसाएका प्रतिफल सबै भेला सकिएपछि राजधानी आइपुगेर किशुनजी समक्ष उपस्थित हुँदा उहाँले भन्नुभयो ‘तिमीसँग (तथ्यमा उहाँको गम्भीर कुरामा तपाईँ सम्बोधन गर्ने बानी थियो) गिरिजा धेरै रिसाएका छन् । एक महिनासम्म उसको अगाडि नपर’ । किशुनजीले यसो भन्नुभएको भोलिपल्ट बिहानै जयबागेश्वरस्थित गिरिजाको निवास पुगेँ । मलाई देख्नेबित्तिकै ‘पार्टीको नीतिविपरीत पुस्तिका वितरण गर्नु गलत हो । तपाईँ मेरो घर नआउनुहोस् र पार्टी अफिस पनि नआउनुहोस्’ औँलो ठड्याएर गिरिजाले यसो भनेकोमा मैले पनि औँलो ठड्याएरै जवाफ फर्काएँ ‘बीपीलाई भेट्न आउने बानी लागेकोमा आउने गरिएको तपाईँले मेरो घर नआउनु भनेपछि आउने कुरा भएन । तर जहाँसम्म पार्टी अफिसको कुरो छ, त्यो तपाईँको बपौती होइन’ र त्यसैदिन पार्टी अफिसमा गिरिजा अगाडि नै उपस्थित भएँ । तर त्यतिखेरको त्यो मेरो समझ गलत रहेछ भन्ने गणेशमान, भट्टराई, सीके प्रसाईँजस्ता नेताहरू लखेटिएपछि थाहा पाएँ वास्तवमा कांग्रेस गिरिजाकै बपौती रहेछ ।
अन्त्यमा देउवा कांग्रेसका एआइ उत्तराधिकार पूर्णबहादुर खड्काको सन्दर्भ परेर कांग्रेस इतिहास पाठ्यक्रमका आवश्यक यति विवरण ल्याएँ । प्राण गएको मानिस समयमै अन्त्येष्टि नहुँदा कुहिएर गन्हाएर रोग फैलाउन थाल्नेजस्तै विचार हराएको कांग्रेस कुहिएर, गन्हाएर रोग फैलाउने चरणमा पुगेको देश, जनता र प्रणालीका लागि कोरोनाभन्दा पनि खतरनाक क्यान्सर भएको भाद्र २४ बीपी जन्मजयन्ती दिनको दुईपटक कांग्रेस सभापति भएका शेरबहादुर देउवाको हालत अभिलेखबाट आउने सात पुस्तासम्मलाई पाठ्यक्रम पर्याप्त भइसकेको छ । यहाँ पूर्णबहादुर खड्काको सन्दर्भमा आगामी विशेष या नियमित महाधिवेशनबाट आउने नेतृत्वले कांग्रेसको गिरिजाउताको वैचारिक धार समाएर पुनः प्राण प्रतिष्ठा हुने अपेक्षा राख्नु क्यान्सरका किटाणुहरूलाई थप पोस्नुजस्तो मात्र हो । संघीयताले वर्षको एक खर्ब सात अर्ब राष्ट्रिय बजेट बालुवामा पानी हुने गरेको लुटतन्त्र जेन–जी पुस्तामार्फत उठेको नवजागरणबाट अब लुक्ने कुरा छैन । पूर्णबहादुर खड्काले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत यी तीनै ठाउँमा कब्जा जमाएर लुटतन्त्र मच्चाएका देउवा, ओली, प्रचण्डका घरमा खरानी भएको संघीयता जोगाउन खोज्नु देश, जनता, प्रणाली र पार्टीका लागि कोरोनाभन्दा पनि खतरनाक क्यान्सर हुनु हो । अस्तु ।