दमौली (तनहुँ) । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विगत दुई वर्षको अवधिमा विद्युत् चुहावट नियन्त्रणमा प्रगति हासिल गरेको छ । केन्द्रले दुई वर्षमा विद्युत् चुहावट नियन्त्रणमा राखेको लक्ष्यभन्दा बढी प्रगति हासिल गर्न सफल भएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा ९ दशमलव ३० प्रतिशत चुहावट नियन्त्रण लक्ष्य रहेकामा ९ दशमलव ६३ प्रतिशत प्रगति हासिल भएको केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिए । यस्तै, आर्थिक वर्ष २०८०/८१ मा सात दशमलव ९२ प्रतिशत चुहावट नियन्त्रण लक्ष्य राखिएकामा १२ दशमलव ९२ प्रतिशत प्रगति हासिल भएको उनले बताए ।
केन्द्रले तनहुँ, लमजुङ, कास्की, नवलपुर र स्याङ्जा जिल्लाका केही क्षेत्रमा सेवा प्रवाह गर्दै आएको छ । रेग्मीका अनुसार तनहुँको व्यास नगरपालिकाका १४ वटै वडा, भानु नगरपालिकाका ९, १०, ११ बाहेक १० वटा वडा, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिकाका पाँचबाहेक चार वटा वडा, म्याग्दे गाउँपालिकाका पाँचबाहेक छवटा वडाहरु, ऋषिङ गाउँपालिकाका ५ र ७बाहेक पाँचवटा वडाहरु, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र घिरिङ गाउँपालिका कार्यक्षेत्र हो ।
यस्तै, नवलपुरको बौदीकाली गाउँपालकाका केही भाग, स्याङ्जा जिल्लाको हरिनास गाउँपालिकाका केही भाग, कास्कीको रुपा गाउँपालिका वडा नम्बर ३ र ४, लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ यसको कार्यक्षेत्रभित्र पर्दछ ।
कार्यालयले गत आर्थिक वर्षमा रु ६२ करोड ५१ लाख ७३ हजार तीन सय २३ विद्युत महशुल संकलन गरेको छ । अनलाइनमाध्यमभन्दा कार्यालय काउन्टरबाट बढी रकम संकलन भएको केन्द्र प्रमुख रेग्मीले जानकारी दिए । उनका अनुसार विभिन्न अनलाइन माध्यमबाट २३ करोड ४६ लाख २० हजार सात सय ६५ र कार्यालय काउन्टरबाट ३९ करोड पाँच लाख ५२ हजार पाँच सय ५८ संकलन भएको छ ।
अनलाइन माध्यमबाट महशुल बुझाउनेमा ५३ दशमलव ७३ प्रतिशत र कार्यालय काउन्टरबाट महसुल बुझाउनेमा ४६ दशमलव २७ प्रतिशत ग्राहक छन् । रासस