धनुषा । छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा केराको माग अत्यधिक वृद्धि भएको छ । बजारमा केराको कारोबार बढेको हो ।
छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीयरूपमा बिक्री बढेको फलफूल व्यवसायीले बताएका छन् । छठ पर्वमा भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद ‘केरा’को सिङ्गैघरीको माग जनकपुरधामसहित स्थानीय बजारमा अत्यधिक बढेको केरा व्यापारी जनाएका छन् । अहिले स्थानीय महेन्द्रनगर, ढल्केवर, वीरेन्द्रबजार, गोदार, सबैला, बटेश्वर, लक्ष्मीनियाँका बजारमा केराको कारोबार बढेको छ । यसैगरी, जनकपुरधामलगायत मुख्य बजारदेखि ग्रामीण हाटबजारसम्म अहिले केरा किन्ने ग्राहकको भीड लागेको छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयातमा वृद्धि गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । उनका अनसार यस वर्ष व्यापारीले भारत र अन्य जिल्लाबाट ठूलो परिमाणमा केरा खरिद गरी गोदाममा भण्डारण गरेका छन् ।
गोदाममा पर्याप्त मात्रामा केरा उपलब्ध भएकाले यसपटक ब्रतालुलाई केराको अभाव नहुने अध्यक्ष यादवले बताए । केराको माग बढेसँगै मूल्यमा भने वृद्धि भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ का रमेश गुप्ताका अनुसार अहिले स्थानीय बजारमा केराको प्रतिघरी मूल्य छ सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म पुगेको छ, जुन गत वर्षको तुलनामा उल्लेखनीयरूपमा बढी हो । छठ पर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा केरा भारतबाट आयात गरिएको छ । स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको फलफूल व्यवसायीको भनाइ छ । महेन्द्रनगरका जीवन फ्रुट सेन्टरका सञ्चालक जीवन साहले यस वर्ष झण्डै ७२ ट्रक केरा भित्र्याइएको जानकारी दिए । जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरीको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ ।
मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए । छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको उनले बताए । ‘छठ मनाउने संख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो, बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५/२० ट्रक बढी केरा मगाइएको छ’, उनले भने । समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी आउँछन् । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च छ लाख रुपैयाँ पर्ने उनले जानकारी दिए । बजारमा प्रत्येक केराको घरीलाई पाँच सय रुपैयाँदेखि एक हजारसम्ममा बिक्री गरिन्छ ।
नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराको उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।