काठमाडौं । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन निर्माणको कार्य ८७ प्रतिशत सकिएको छ । शनिबार निर्माणाधीन भवनको अवलोकन गर्न पुगेका सहरी विकासमन्त्री कुलमान घिसिङलाई निर्माण कम्पनीका प्रतिनिधिले उक्त जानकारी गराएका हुन् ।
सो क्रममा मन्त्री घिसिङले हरेक दिनको कार्यतालिका बनाएर निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए । मन्त्री घिसिङले भने, ‘पाँचौँपटक म्याद थप गर्दा ठेकेदारका तर्फबाट आगामी पुस १६ गतेभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता गर्नुभएको छ, उक्त समयभित्रै निर्माण सम्पन्न गर्न गम्भीर भएर काम गर्नुपर्छ ।’ ‘जेन–जी’ प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा क्षति पुगेको छ । त्यसैले पनि राष्ट्रियसभा बैठक बसाल्न पनि समस्या भइरहेको छ । ‘पुरानो संसद् भवनमा जेन–जी प्रदर्शनका क्रममा आगजनी भएर क्षति पुगेको छ । राष्ट्रियसभा बैठक चलाउनुपर्नेछ’, मन्त्री घिसिङले भने, ‘आगामी निर्वाचनपछि प्रतिनिधिसभा बैठक पनि बस्नुपर्छ । हाल क्षतिग्रस्त संसद् भवनलाई बैठक सञ्चालनयोग्य बनाउन समय लाग्छ । त्यसैले नयाँ संसद् भवन छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ ।’
त्यसक्रममा ठेकेदार प्रतिनिधिले भवनभित्र ‘फिनिसिङ’को काम चलिरहेको जानकारी गराएका थिए । कतिपय निर्माण सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले निर्माणमा केही ढिलाइ भएको जनाउँदै ठेकेदार कम्पनीले बाँकी काम आगामी पुस १६ गतेसम्म सम्पन्न गर्नेगरी आफूहरू लागिरहेको बताएको छ । सिंहदरबार परिसरभित्र एक सय ५७ रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन निर्माण भइरहेको छ ।