गुल्मी । गए राति मदाने गाउँपालिका–१ अन्तर्गत कचुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले मदाने गाउँपालिका–१ अग्लुङका १९ वर्षीय सहचालक मेघराज पुनको मृत्यु भएको जानकारी दिए ।
मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट गए राति बालुवा लोड गरेर वडा कार्यालयतर्फ आइरहेको रा१त ३५०२ नम्बरको ट्याक्टर उकालोमा लोड तान्न नसकी ब्याक भई ब्रेकले काम नगरेपछि दुर्घटना भएको सूचना अधिकारी सारुले जानकारी दिए ।
प्रहरीका अनुसार ट्याक्टरबाट हामफाल्ने क्रममा बाटोबाट उछिट्टिएर गम्भीर घाइते बनेका पुनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरीक्षक रेबन्त सेनको नेतृत्वमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो । प्रहरीले ट्याक्टर चालक मदाने–१ अग्लुङ निवासी २२ वर्षीय निमन चन्दलाई नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।