काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही कात्तिक २७ गते, होटल पोखरा ग्रान्ड, बिरौटा, पोखरामा उन्नाइसौँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्तापुँजी पाँच अर्ब ६८ करोड पाँच लाख १७ हजार तीन सय २७ रुपैयाँमध्येबाट चार दशमलव ५३ प्रतिशतका दरले हुन आउने २५ करोड ७३ लाख २७ हजार चार सय ३४ रुपैयाँ बराबरको नगद लाभाँश (कर प्रयोजनसहित) र चुक्ता पुँजीको छ प्रतिशतका दरले हुन आउने ३४ करोड आठ लाख ३१ हजार ३१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बैंकले सोही वार्षिक साधारणसभामार्फत अधिकृत पुँजीलाई वृद्धि गरी छ अर्ब १० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ । त्यस्तै, सभाले रजिस्टर्ड कार्यालय स्थानान्तरण गर्ने, छाप तथा लोगो परिवर्तन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्जिविसनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यसअनुसार कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।