काठमाडौं । आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कुल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम अगाडि बढाइएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले ईआईएको काम अगाडि बढाएको हो । सो आयोजना रुरु जलविद्युत् परियोजनाले निर्माण गर्नेछ । आयोजना हुम्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित छ । वन तथा वातावरण मन्त्रालयले यसअघि नै सार्वजनिक सूचनामार्फत ईआईएमा आवश्यक सुझाव तथा सल्लाह दिन आग्रह गरिसकिएको जनाएको छ । आयोजना निर्माणका लागि कुल ४७ दशमलव १३ हेक्टर जमिन आवश्यकता पर्नेछ । विद्युत् उत्पादनअन्तर्गत ५० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्रभाव मूल्याड्ढन गर्नुपर्ने प्रावधान रही आएको छ । सोहीअनुसार ईआईएको काम अगाडि बढाइएको र हाल मन्त्रालयले आवश्यक अध्ययन गरिरहेको छ ।
नदी प्रवाहमा आधारित सो आयोजना कर्णाली नदी बेसिनको एक प्रमुख आयोजना हो । बाह्रेमासे हिम नदीका रूपमा परिचित हुम्ला कर्णालीमा निर्माण हुने भएकाले पनि यस आयोजनालाई महत्वपूर्णरूपमा हेरिएको हो । प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज एक सय १८ दशमलव ७० घनमिटर प्रतिसेकेण्ड रहेको छ । आयोजनामा दुईवटा डाइभर्सन सुरुङ निर्माण हुनेछ । डाइभर्सन सुरुङको लम्बाई पाँच सय ४५ मिटर र पाँच सय ४२ मिटर रहनेछ । डाइभर्सन सुरुङको व्यास नौ दशमलव पाँच मिटर रहनेछ । आयोजनाबाट सुक्खायामका छ सय नौ दशमलव ८९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ भने वर्षायाममा एक हजार एक सय ८४ दशमलव ८३ गिगावटा घण्टा ऊर्जा उत्पादन हुनेछ ।
आयोजनाबाट उत्पादित बिजुली २० किलोमिटर लामो डबल सर्किट चार सय केभी क्षमताको प्रसारण लाइनमार्फत मुगु कर्णाली हबमा जोडिनेछ । आयोजना निर्माण हुँदा ५६ घरधुरी प्रभावित हुनेछन् । यस्तै, एक सय ८८ वटा रुख कटान गर्नुपर्नेछ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ७६ लाख रुपैयाँ बराबर रहेको छ । यस्तै, कुल लागत ७२ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबर रहनेछ । आयोजना निर्माण चरणमा औसत एक हजार आठ सय पाँच जना र सञ्चालन चरणमा एक सय १५ जनाले रोजगारी प्राप्त गर्नेछन् ।