काठमाडौं, भदौ १२
नेपाल बंगलादेश बैंकले कोभिड १९ को उपचारमा प्रयोग हुने जीवनरक्षक औषधि अभाव भइरहेको बेला दुई करोड २५ लाख रुपैयाँबराबरका औषधि सहयोग गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गर्दै बैंकको संयुक्त लगानीको बैंक आईएफआईसी बैंक, बंगलादेश तथा औषधि उत्पादक बेक्सिमको फर्मास्युटिकल, बंगलादेशको संयुक्त पहलमा ती औषधि सहयोग गरिएको हो ।
हाल देशमा आइपरेको विषम परिस्थिति र तत्पश्चात् कोभिड १९ को जीवनरक्षक मानिएको औषधि रेम्डिसिभर पाँच हजार थान बिहीबार ढाकास्थित नेपाली राजदूत डा. वंशिधर मिश्रालाई हस्तान्तरण गरिएको छ । उक्त औषधि अबको एक–दुई दिनभित्रमा नेपाल आइसक्ने र सर्वसाधारण जनताको जीवन रक्षामा प्रयोग हुने बैंकले जनाएको छ ।
उक्त औषधिको हालको बजारमूल्य करिब दुई करोड २५ लाख रुपैयाँभन्दा बढी रहेको छ । नेपाल बंगलादेश बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि नेपाल सरकारको कोभिड १९ फण्डमा एक करोड ४५ लाख रुपैयाँ प्रदान गरिसकेको छ । समाजप्रति एक जिम्मेवार बैंकको हैसियतले बैंक सदैव आफ्नो जिम्मेवारी बहन गर्न तयार रहेको छ ।