भद्रपुर । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा पाँच करोड ९० लाख ३३ हजार रुपैयाँको अर्थात् एक दशमलव ३० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व तीन दशमलव २० प्रतिशत अर्थात् छ करोड ८९ लाख पाँच हजार रुपैयाँले बढेको सूचना अधिकारी हुमागाईँले बताए ।
कार्यालयको तथ्याङ्कअनुसार चालू आवको तीन महिनामा पेट्रोलियम पदार्थ आयातबाट दुई अर्ब २० करोड ६८ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । उक्त अवधिमा दुई अर्ब ३२ करोड ७८ लाख मूल्य पर्ने २६ हजार तीन सय २० किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी, एक अर्ब २६ करोड १५ लाख मूल्य पर्ने १३ हजार तीन सय ५६ किलोलिटर डिजेल आयात भएको छ । त्यस्तै, तीन महिनाको अवधिमा ६२ करोड ८१ लाख मूल्य पर्नेछ हजार तीन सय ६१ मेट्रिक टन एलपी ग्यास, २० करोड २६ लाख मूल्य पर्ने दुई हजार दुई सय ५६ किलोलिटर एटीएफ र तीन करोड ७९ लाख मूल्य पर्ने चार सय २० किलोलिटर मट्टितेल आयात भएको छ ।