काठमाडौं । शेयर बजारमा सामान्य अंकले सुधार देखिएको छ । तिहारको लामो बिदापछि आज आईतबार धितोपत्र बजारमा सामान्य अंंकले सुधार देखिएको हो । यसअघि लगातार खुुम्चिएको शेयर बजार परिसुचक नेप्से आज पाँच दशमलव १९ अंकले उकालो लागेर २५ सय नौं दशमलव चार बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ६० अंकले ओरालो लागेर चार सय ३७ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १३ वटा कम्पनीहरुको २७ हजार आठ सय ९९ पटकको कारोबारमा ५५ लाख ९६ हजार ७७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम दुई अर्ब ६६ करोड १३ लाख दुई हजार दुई सय ८४ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएको छ । जसमध्ये जीवन बीमा, निर्जीवन बीमा उत्पादनमुलक, अन्य र व्यापार उपसमुहको सुचक उकालो लाग्दा बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत सहितका आठ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।