काठमाडौं । मादकपदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सात जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आइतबार गरिएको विशेष चेकिङको क्रममा मादकपदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सात जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले बा ५ ख ६८१५ नम्बरको रिङरोड चल्ने भाडा बस खम्ब दमाई, बा ५ ख ७९१ नम्बरको भाडा बस चालक सिताराम गिरी र बागमती प्रदेश ०१–००२ ज ८५१८ नम्बरको हायस चालक मोचाकाजी महर्जनलाई काठमाडौंको बाफलबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, बागमती प्रदेश–०१–००६ ख ८९८३ नम्बरको महानगर यातायातको बस चालक सकुल डोटेललाई गौशालाबाट र बा ४ ख ९३५६ नम्बरको बस चालक राजु कटुवाललाई चाबहिलबाट, बागमती प्रदेश ०१–००६ ख ५४३१ नम्बरको रात्रिकालीन बसका चालक धर्मदेव यादवलाई कोटेश्वरबाट र बा ४ ख ४१० नम्बरको माइक्रो चालक अजय गोलेलाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको हो ।
मादकपदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका चालकहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।