काठमाडौं । चाडपर्व सकिएलगत्तै नेपाल धितोपत्र बोर्डका कर्मचारीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । अर्थ मन्त्रालयले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्न निर्देशन दिएपछि सुरु भएको बोर्डका कर्मचारीहरुको आन्दोलनको ३४ दिन पुगिसकेको छ ।
आन्दोलनका क्रममा कर्मचारीहरुले आइतबार कार्यालय समयको पहिलो एक घण्टा धर्ना दिएका छन् भने दिनभर काम ठप्प (पेन डाउन) गर्ने क्रमलाई सो दिन पनि जारी राखेका छन् । पेन डाउनका कारण धितोपत्र बोर्डको सबै दैनिक प्रशासनिक कामकाज ठप्प छ । जसले गर्दा निष्काशन अनुमति समेत अवरुद्ध हुन पुगेको छ ।