काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर बिक्रीमा राखेको छ । कम्पनीले अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा राखेको हो । कम्पनीले सर्वसाधारण समूहको अवितरित आठ लाख ६५ हजार ८४५ कित्ता हकप्रद सेयर लिलाममा राखेको जानकारी दिएको छ ।
कम्पनीले भदौ १९ गतेदेखि असोज २३ गतेसम्म हकप्रद सेयर निष्कासन गर्दा बाँकी बसेको उक्त सेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको हो । कम्पनीले सेयरको प्रतिकित्ता न्यूनतम मूल्य एक सय रुपैयाँ तोकेको छ । यसमा आवेदन दिँदा कम्तीमा एक सय कित्ता र बढीमा १०ले निःशेष भाग जाने वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । यसमा कात्तिक २० गते बिहीबारदेखि कात्तिक २७ गते बिहीबार दिउँसो ३ बजेसम्म गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यस्तो बोलपत्र डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेड र सिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत जनकपुर (भानुचोक), नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल (पाल्पा रोड) र हेटौंडा शाखा कार्यालयमा पाइँने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।