बागमती । चितवनबाट मनहरीतर्फ आउँदै गरेको पूर्व(पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ७ लच्कास्थित सडकमा सोमबार बिहान ग्यास बुलेट गाडीले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बा प्र २–०५७ प ३२३० नं को स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको एनएल ०१ एन ०२८० ग्यास बुलेटले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपालचोकको चौतारा नगरपालिका–५ निवासी ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । स्कुटरको पछाडि सवार मृतकका घाइते श्रीमती २८ वर्षीया सरस्वती श्रेष्ठ र उनका दुई वर्षीय छोरा प्रवीण श्रेष्ठ दुवै जनाको एलाइभ अस्पताल चितवनमा उपचार भइरहेको छ ।
प्रहरीले ठक्कर दिने ग्यास बुलेटसहित चालक भारतको विहार निवासी ५५ वर्षीय मोहम्मद मतिनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।