ललितपुर । सुत्केरीको मृत्युको विरोधमा मृतकका आफन्तले ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेजमा तोडफोड गरेका छन्।शुक्रबार राति सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ की ३४ वर्षीया मिनाश्री राईको मृत्यु भएपछि उनका आफन्त आक्रोशित बनेका थिए। उनीहरूले चिकित्सकको लापरवाहीका कारण मिनाश्रीको ज्यान गएको आरोप लगाउँदै अस्पतालमा तोडफोड गरेका हुन्। आफन्त र स्थानीय प्रदर्शनकारीहरूले अस्पतालको मुख्य गेट फोड्दै भित्र पसेर ढुंगामुढा गरेका थिए।स्थिति नियन्त्रण बाहिर जाँदा प्रहरीले लाठीचार्ज र केही राउन्ड आश्रुग्यास प्रहार गरेर भीड तितरबितर पारेको थियो। घटनास्थलमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने अस्पतालको सेवा प्रभावित भएको बताइएको छ। मृतक राईको शव अस्पतालमै राखिएको छ र घटनापछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।