काठमाडौँ, जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको जानकारी दिएको छ।
महाशाखाले सोमबार दिउँसो १२ बजे जारी गरेको पोस्ट मनसुन विशेष मौसम बुलेटिन (१) अनुसार, कात्तिक १० गते रातिदेखि १२ गते बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड र हिमाल भूभागमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
विशेष गरी गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागमा एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने चेतावनी महाशाखाले दिएको छ। महाशाखाले जनाए अनुसार, सम्भावित हिमपात र वर्षाले दैनिक जीवन, कृषि, पर्यटन तथा पर्वतारोहण क्षेत्रमा असर पुर्याउन सक्छ। त्यसैले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।