काठमाडौं । हाल देशको मौसमी प्रणालीमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलबार देशभर साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ। त्यस्तै, तराईका केही स्थानहरूमा हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात र वर्षा हुने सम्भावना पनि रहेको छ।मंगलबार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायतका पहाडी क्षेत्रमा साधारणतया बदली रहने र तराई भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा वा हिमपात हुने पूर्वानुमान गरिएको छ। त्यस्तै, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात र वर्षा हुने सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।