काठमाडौं । बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा (एनपीएल) बढ्दै गएको छ । चालू आर्थिक बर्र्षको पछिल्लो दुई महिनाको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी केन्द्रीय बैंकको विवरणले निष्क्रिय कर्जा बढेको देखिएको हो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो दुई महिना अर्थात् भदौ मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक (क्षेत्रीय र राष्ट्रियस्तरका) र फाइनान्स कम्पनीहरुले कुल ७३ खर्ब ३१ अर्ब ४२ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ खर्ब १७ अर्ब ५१ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये औषत चार दशमलव ६२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
यो कर्जा गत आवको सोही अवधिको तुलनामा झण्डै एक प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कुल ६५ खर्ब २८ अर्ब ६६ करोड २० लाख रुपैयाँ निक्षेप संकलन र ५२ खर्ब २३ अर्ब २० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह हुँदा औषत तीन दशमलव ८६ प्रतिशत मात्र कर्जा निष्क्रिय देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको भदौसम्म वाणिज्य बैंकहरुले मात्र ६५ खर्ब ८० अर्ब २७ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ९१ अर्ब ३४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले ५७ खर्ब ९८ अर्ब २५ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ४६ खर्ब १८ अर्ब एक करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ७६ प्रतिशत मात्र कर्जा निष्क्रिय देखिएको थियो ।
विकास बैंकहरुले भने चालू आवको भदौ मसान्तसम्ममा कुल छ खर्ब १९ अर्ब ७७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब २२ अर्ब ८० करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा कुल पाँच दशमलव शून्य तीन प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने विकास बैंकहरुले कुल पाँच खर्ब ९७ अर्ब ७४ करोड ४० लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरी पाँच खर्ब तीन अर्ब ६५ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औषतमा तीन दशमलव ६२ प्रतिशत मात्र कर्जा निष्क्रिय देखिएको थियो ।
फाइनान्स कम्पनीहरुले भने चालू आवको भदौ मसान्तसम्ममा कुल एक खर्ब ३१ अर्ब ३७ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब तीन अर्ब ३६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औषतमा ११ दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुले एक खर्ब ३२ अर्ब ३६ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ५४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औषतमा नौ दशमलव ८७ प्रतिशत मात्र कर्जा निष्क्रिय देखिएको थियो ।