भक्तपुर । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन मंगलबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । साथै, उनले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खापुङ्गले भवन निर्माण कार्यमा सहयोग पु¥याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गरे । उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरीप्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीक समेत भएको उल्लेख गरे । नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने विश्वास उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक खापुङ्गले कानुन कार्यान्वयन तथा समाजमा घट्ने हरेक विपत्ति, दुर्घटना र असामान्य परिस्थितिहरूमा अग्रपंक्तिमा रही सेवा प्रवाह गर्दै आएको नेपाल प्रहरीप्रति नागरिहरूको ठूलो आस्था र भरोसा रहेको चर्चा गर्दै सो भरोसालाई जीवन्त बनाई राख्न विगतका कमी कमजोरीहरूको विश्लेषण गर्दै शिष्ट आचरण र व्यवहारका साथ उत्कृष्ट कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेको हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गरे ।