काठमाडौं । देशका विभिन्न उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । सोलुखुम्बु, दोलखा, मनाङ, मुस्ताङ, गोरखालगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।
सोमबार रातिदेखि भएको हिमपातका कारण यातायात, पर्यटन र दैनिकी जीवनमा असर परेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा मंगलबार बिहानदेखि बाक्लो हिमपात भएको थियो । यस्तै, नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा भने वर्षा भएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । हाल करिब तीन हजारभन्दा बढी विदेशी पर्यटक सो क्षेत्रमा रहेको अनुमान छ । हिमपातका कारण बाटो नदेखिने र हराउने जोखिम भएकाले जिल्ला प्रशासन कार्यालयले यात्रामा ननिस्किन आग्रह गरेको छ ।
यस्तै, दोलखाको लप्ची उपत्यकामा पनि हिमपात भएको छ भने कास्कीको अन्नपूर्ण आधार शिविर क्षेत्रमा पनि सोमबार बेलुकादेखि नै हिमपात भएको हो । कास्कीको माछापुच्छ्रे आधार शिविरदेखि अन्नपूर्ण आधार शिविरसम्म हिउँ परेको छोम्रोङ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । मुस्ताङको लोमान्थाङ, कोरलानाका, मुक्तिनाथलगायत क्षेत्रमा मंगलबार बिहानैदेखि बाक्लो हिउँ परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मुक्तिनाथ क्षेत्रमा पाँच–छ इन्चसम्म हिउँ जमिसकेको र निरन्तर हिमपात भइरहेकाले दर्शनार्थीलाई समस्या परेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले बताए । जिल्ला प्रशासनले कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह गरेको छ । गोरखाको उत्तरी चुमनुब्री गाउँपालिकामा गए रातिदेखि हिउँ परेको छ । सामागाउँ, साम्दो, स्याला, ल्होलगायतका गाउँहरू हिउँले ढाकिएका छन् । हिमपातका कारण मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक सामागाउँ र साम्दोमै रोकिएका छन् ।
लगातारको हिमपातका कारण उच्च हिमाली क्षेत्रमा तापक्रम एक्कासी घटेको छ । हिमाली पर्यटन क्षेत्रहरूमा परेको हिमपातले चिसो बढाएको छ भने जनजीवन प्रभावित बनाएको छ । तर यसले कृषि र वातावरणीय सन्तुलनका दृष्टिले भने सकारात्मक असर ल्याउने अपेक्षा गरिएको छ । हिमपात भएपछि पर्यटन व्यवसायीहरु भने उत्साही भएका छन् ।