काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम निर्माण गरी हस्तान्तरण गरेको छ । संघले काठमाडौैं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा ट्राफिक कन्ट्रोल रुम निर्माण गरेको हो । संघका अध्यक्ष महेश कुमार श्रेष्ठले मङ्गलबार आयोजित कार्यक्रममा उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई कन्ट्रोल रुमको साँचो हस्तान्तरण गरेका हुन् । ७५ लाख ४४ हजार रुपैयाँको लागतमा सम्पन्न परियोजनामा सिभिल निर्माण, आधुनिक डिजाइन, भिडियो वाल, नेटवर्क प्रणाली र अपरेसनल उपकरणहरूको प्रतिस्थापन तथा मर्मत कार्य गरिएको छ । योसँगै काठमाडौं उपत्यकाका मुख्य सडकहरू सीसीटीभीको निगरानीमा रहने छन् ।
एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले यो परियोजना केवल संरचना हस्तान्तरण नभई प्रवासी नेपालीहरूको मातृभूमिप्रतिको जिम्मेवारी र सहकार्यको प्रतीकको रूपमा रहेको बताए । उनले स्मार्ट, सुरक्षित र दिगो सहर निर्माणतर्फ यो कदमले नयाँ अध्याय सुरु गरेको बताए । विश्वका स्मार्ट सहरहरू सिङ्गापुर, टोक्यो, लन्डन र दुबईका ट्राफिक प्रणालीबाट प्रेरणा लिँदै नेपालमा पनि कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित ट्राफिक व्यवस्थापन र रियल टाइम डेटा मनिटरिङ प्रणाली लागू गर्नुपर्ने उनले आवश्यकता औँल्याए । एनआरएनएले दोस्रो चरणमा मादक पदार्थ सेवन (मापसे) चेकिङका लागि ब्रेथलाइजरहरू हस्तान्तरण गर्ने जनाएको छ ।
ट्राफिक प्रहरी कन्ट्रोल रुम हस्तान्तरण कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीले यो सहकार्यका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्प्रति आभार व्यक्त गरे । उनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई अब प्रविधिमा आधारित ‘स्मार्ट सिटी’ को अवधारणामा लैजानुपर्नेमा जोड दिए । उनले ट्राफिक व्यवस्थापन केवल प्रहरीको काम मात्र नभई सम्पूर्ण सरोकारवालाको सामूहिक दायित्व भएको पनि बताए । करिब ४० दिनको निरन्तर प्रयासपछि सम्पन्न भएको कन्ट्रोल रुम हस्तान्तरण कार्यक्रममा एआईजी कार्कीले ट्राफिक म्यानेजमेन्टको ‘फोर ई’ सिद्धान्तको विस्तृत व्याख्या गर्दै नेपाल प्रहरीले अब प्रविधिमार्फत ‘फेस लेस’ कारबाही प्रणालीमा जाने लक्ष्य राखेको बताए । फोर ईमा इन्जिनियरिङ, एजुकेसन, इन्भाएरनमेन्ट र इन्फोर्समेन्ट पर्छन् ।
ट्राफिक प्रहरीको चुनौतीबारे एआईजी कार्कीले सवारी दुर्घटनामा मानवीय क्षतिको भयावह तथ्याङ्क प्रस्तुत गरेका थिए । उनका अनुसार नेपालको दुर्घटनामा हुने कुल मृत्युको ४४ प्रतिशत मोटरसाइकल प्रयोगकर्ता र ४२ प्रतिशत पैदल यात्री हुने गरेका छन्, जसले कुल मृत्युको ८६ प्रतिशत हिस्सा ओगट्छ । उनले सार्वजनिक सवारी साधनका चालकले मादक पदार्थ सेवन गरेर आम नागरिकको जिउ ज्यानसँग खेलवाड गरेको अवस्था किमार्थ स्वीकार्य नहुने बताउँदै मापसे तथा लागूपदार्थ सेवनविरुद्धको चेकिङलाई निरन्तरता दिइने बताए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौंको ट्राफिक व्यवस्थापनमा कन्ट्रोल रुमको भूमिका थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले राजधानीमा सवारी साधनको अत्यधिक चाप र साँघुरा सडकहरूको कारणले गर्दा ट्राफिक प्रहरी कर्मचारीहरूलाई भौतिक उपस्थितिमार्फत नै बढी खटिनुपर्ने अवस्था रहेको बताए । एनआरएनएका उपाध्यक्ष एवम् विपद् व्यवस्थापन समितिका संयोजक मनोज श्रेष्ठ ’गोर्खाली’ले सडक सुरक्षालाई मध्यनजर गरेर नै कार्यसमितिमा छलफल गरी ट्राफिक कन्ट्रोल रुम पुनः निर्माणमा सहयोग गरिएको बताए । छोटो अवधिमै काम पूरा गर्ने तयारी गरिए पनि बीचमा दशैँ, तिहारजस्ता पर्व परेकाले केही समय लागे पनि गुणस्तरीय काम भएको सह–संयोजक रश्मी थापाले बताइन् ।