काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज साँझ ४ बजे बालुवाटारमा सरकार, जेनजी आन्दोलनका प्रतिनिधि र विभिन्न राजनीतिक दलबीच त्रिपक्षीय छलफल बस्ने भएको छ। सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल उपस्थित हुनेछन्। जेनजीको तर्फबाट १४ जना प्रतिनिधि तथा विभिन्न राजनीतिक दलका १६ जना नेताहरू छलफलमा सहभागी हुनेछन्। जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा यसरी संयुक्त रुपमा बस्न लागिएको यो पहिलो औपचारिक त्रिपक्षीय वार्ता हो। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि नयाँ सरकार गठन नहुँदा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो। अन्तरिम सरकार गठन भएको २७ भदौ यता सरकारले जेनजी र विभिन्न राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै रुपमा संवाद गर्दै आएको थियो। आजको वार्तालाई आगामी फागुन २१ गते हुने भनिएको आमनिर्वाचनको वातावरण निर्माणतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यसअघि प्रधानमन्त्री कार्कीले कात्तिक ४ गते सर्वदलीय बैठक बोलाएकी थिइन्, भने त्यसअघि असोज २४ गते राष्ट्रपति रामचन्द्र पौडेलले समेत दलहरूसँग छलफल गरेका थिए।