भैरहवा । गए राति रुपन्देहीको कन्चन गाउँपालिका–५, फायरलाइनस्थित भित्री सडक खण्डमा भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार राति करिब १०ः३० बजे बागमती प्रदेश ०१–००६ ख। ७७८२ नम्बरको इभी गाडी रुद्रपुरतर्फ आउँदै गर्दा अनियन्त्रित भई सडक छेउँमा रहेको बाँझीको रुखमा ठोक्किएको थियो । इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक अनिल खड्काले दुर्घटनामा सवार सात जनामध्ये तीन जनाको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको जानकारी दिए ।
सैनामैना–८, बासगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम विकको मृत्यु भएको छ । आचार्यको राति १२ः३० बजे पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने थापा र विकको कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उहाँका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा गम्भीर घाइते भएका छन् । उनीहरूको टाउकोमा गम्भीर चोट लागेकाले मध्यरातमा थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल र मरसिटी अस्पताल बुटवल पठाइएको खड्काले बताए ।
अत्यधिक गतिका कारण गाडी अनियन्त्रित भइ सडकबाट तल खसी दुर्घटना हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । गाडीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ ।